२५ कात्तिक, काठमाडौं ।


ताप्लेजुङदेखि दार्चुलासम्म पुग्दै देउवा

वारेसनामामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा अझै पुगेका छैनन् । शनिबार ताप्लेजुङबाट उनले पार्टीको प्रचार अभियान सुरु गर्दै छन् । ताप्लेजुङपछि उनले पाँचथर र सोलुखुम्बुमा चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वबाट फर्किएपछि देउवा सुदूरपश्चिमी जिल्ला जाँदै छन् । २९ कात्तिकमा उनी कैलाली पुग्नेछन् । ३० कात्तिकमा बल्ल डडेल्धुरा पुग्नेछन् । त्यसपछि लगातार बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, दार्चुला, कञ्चनपुरका चुनावी सभामा चार–पाँच दिन बिताउने उनका स्वकीय सचिव भानु देउवाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

निर्वाचन क्षेत्रमा समय दिँदै ओली
एमाले अध्यक्ष केपी ओली शुक्रबार गृहजिल्ला झापा पुगेका छन् । केही दिन उनी झापामै रहने एमाले जिल्ला सचिव मदन अधिकारीले बताए । शुक्रबार उनले भद्रपुरको सिटी गार्डेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । साँझ गृहनगर दमकमा कार्यकर्तासँग भेटघाट गरेका छन् । ओलीले शनिबार दिउँसो १२ बजेपछि आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिनेछन् । ‘२५ देखि २७ गतेसम्म उहाँ आफ्नै निर्वाचन क्षेत्रमा बस्नुहुनेछ,’ सचिव अधिकारीले भने । झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत स्थानका कार्यक्रममा उनी व्यस्त रहनेछन् । २७ कात्तिकमा राजधानी फर्किए पनि ओली २ मंसिरमा पुनः झापा पुग्ने कार्यक्रम छ ।

घरदैलो अभियान सुरु गरे प्रचण्डले
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको प्रचार अभियानअन्तर्गत पाँच दिन चितवनमा बिताए । १८ कात्तिकमा उनले आफ्नो निर्वाचन क्षेत्र शिवनगर, जगतपुर र माडीमा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गरे । १९ कात्तिकमा चनौली, गीतानगर, देवनगरमा संयुक्त निर्वाचन कार्यालय उद्घाटन गरे । दोस्रो चरणअन्तर्गत उनले बिहीबार गंगानगर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका छन् । प्रचण्डले शुक्रबार भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे ।

थापा काठमाडौं आउजाउ गर्दै
राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं आउजाउ गर्दै प्रचार गर्ने योजना बनाएका छन् । मकवानपुर १ बाट उम्मेदवार बनेका थापा उपप्रधानमन्त्रीसमेत भएका कारण निर्वाचनका दिनसम्म गृहजिल्लामा प्रचारप्रसारमा जुट्न सक्ने अवस्था नरहेको उनका स्वकीय सचिव दामोदर वाग्लेले जानकारी दिए ।

जिल्ला पुगेर फर्किए ठाकुर
राजपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ का चुनावी कार्यक्रममा सरिक भई बिहीबार काठमाडौं फर्केका छन् । उनले आफ्नो क्षेत्रका मतदातालाई मधेसी दललाई जिताउन आग्रह गरे । आफू जन्मेको महोत्तरीको एकरहिया पिपरा गाउँपालिकाका कार्यकर्तासँग उनले भेटघाट गरेका थिए ।

यादव अन्य जिल्लातिर
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी मनोनयनको अघिल्लो दिन सप्तरी पुगेका थिए । उनी १८ कात्तिकसम्म सप्तरी २ मा आयोजित विभिन्न चुनावी कार्यक्रममा सरिक भए । सप्तरीमा रहेकै वेला धादिङ बस दुर्घटनाका पीडित परिवारलाई भेट्न राजविराज पुगेका उनी तीन–चार दिन सप्तरी बसे ।