कुशल श्रेष्ठ

अधिकांसले सामान्य खालको समस्या आउँदा हस्पिटल गएर चिकित्सकसँग जँचाउन गाह्रो मान्ने गर्छन। तर कहिलेकाहिँ यस्तै साना-साना कुराहरूले पनि ठूलै समस्या निम्त्याउन सक्दछ। त्यसैले आफ्नो शरीरमा कुनै प्रकारको अनौठो लक्षण देखापर्यो भने हस्पिटल गएर एकचोटी जाँच्नै पर्ने हुन्छ।don't ignore body sign

चिकित्सकहरूको सुझावअनुसार, हामीले निम्न प्रकारका लक्षणहरूलाई कहिल्यै पनि बेवास्ता गर्नुहुँदैनः

१. अनुपेक्षित वजनमा कमी

अधिकांशको लागि त, कुनै प्रयास नगरी थोरै तौल घट्नु भनेको राम्रै कुरा हुन जान्छ, तर कसै-कसैको लागि अचानक तौल घट्नु भनेको समस्याको सङकेत हुन सक्छ। हुन त धेरै व्यस्तताले गर्दा अनि खाने बानीमा परिवर्तन हुनाले पनि तौलमा घटबढ हुन सक्छ, तर यो भन्दा खतरनाक कारणले पनि अकस्मात तौल घटेको हुन सक्छ। जस्तै; कोलियाक रोग (Coeliac disease– पेट सम्बन्धि रोग) अथवा अतिसक्रिय थाइरोइड ग्रन्थिको कारण पनि अचानक तौल घट्न सक्छ। (मोटोपना घटाउने सेक्सी उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

त्यसैले, यदि कुनै कारणबिनानै तपाईँको तौल अकस्मात घटेको छ भने आजै हस्पिटल गएर जाँचिहाल्नुहोस्। थाइरोइड ग्रन्थिको क्यान्सरको पछिल्लो चरणमा तौल घट्ने लक्षण देखा पर्दछ।

२. महिनावारी बन्द भैसकेपछि पनि रगत देखा पर्नु

रजोनिवृत्ति (महिनावारी बन्द हुनु) भैसकेपछि पनि महिलाहरूको यौनाङ्गमा रगत देखा परेमा, चाहे त्यो थोरै मात्र नै किन नहोस्, यसले ठूलै समस्याको सङ्केत देखाएको हुन सक्छ। सुरुमा, चिकित्सकले योनीको भित्तामा कुनै प्रकारको सङ्क्रमण अथवा घाउ भएको छ छैन हेर्दछ। तर, यसले गर्भाशयको क्यान्सर भएको पनि सङ्केत गरेको हुन सक्छ। यसको लागि थप जाँच गर्नुपर्ने हुन्छ, त्यसैले रजोनिवृत्ति भएपछि पनि यौनाङ्गमा रगत देखा परेमा त्यसलाई हेलचेक्र्याईँ नगर्नुहोस्, तुरुन्तै हस्पिटल जानुहोस्। ()

३. बङ्गारामा असजिलो महशुस भएमा

टन्सिल अथवा दाँतमा सङ्क्रमण हुँदा पनि बङ्गारा दुख्ने गर्दछ, तर यसको अर्कै खतरनाक कारण पनि हुन सक्छ। पाचन प्रक्रियामा समस्या हुँदा पनि हाम्रो घाँटीमा एसिडको छिर्का पर्न जान्छ र त्यस वरिपरि दुख्ने गर्दछ। अर्को कारण भनेको मुटुमा अक्सिजनको मात्रा कमी हुँदा पनि छाती र बङ्गारामा पीडा हुने हुन्छ। त्यसैले यसलाई बेवास्ता गर्नुहुँदैन।

बङ्गारा दुख्ने लगायत स्वासप्रश्वासमा समस्या, थकान, रगत बान्ता भएमा अथवा अकस्मात तौल घट्ने जस्ता लक्षणहरू देखा परेमा तुरुन्तै हस्पिटल जानुहोस्।

४. पेट फुलेमा

४० वर्षमुनिका व्यक्तिहरूमा थकान, ग्यास्ट्रिक तथा असन्तुलन भोजनले गर्दा पनि पेट फुल्ने समस्या देखा पर्दछ। सामान्यतयाः यदि तपाईँलाई झाडापखाला लागेको छ, थकानले सताएको छ अथवा खाना पचाउन गाह्रो भैरहेको छ भने पेट फुल्ने हुन्छ। तर यस्ता कुनै पनि समस्या छैन र पेट फुलिराखेको छ भने, यसले कुनै खतरनाक समस्यालाई सङ्केत गरेको हुन सक्छ। विशेष गरी महिलाहरूको पेट फुलेमा उनीहरूको डिम्बाशयको क्यान्सरले गर्दा पनि हुन सक्ने चिकित्सकहरू बताउँछन्।

५. थकान

यदि तपाईँलाई दिनैभरी पनि थकाइ लागिरहन्छ भने तपाईँको शरीरमा फलामको कमी भएको हुन सक्छ, त्यसैले त्यस्तो अवस्थामा रातो फल मासु तथा गेडागुडीहरू खानु आवश्यक हुन्छ। तर, कसै-कसैमा मुटु र फोक्सोको समस्याले पनि निरन्तर थकाइ लागिरहने हुन्छ, किनभने तपाईँको शरीरका अङ्ग र मांसपेशीहरूले पर्याप्त मात्रामा अक्सिजन पाइराखेका हुँदैनन्। साथै, रक्तअल्पता, भिटामिन-डी को कमीले गर्दा पनि यस्तो लक्षण देखा पर्दछ, त्यसैले तुरुन्तै हस्पिटल गएर चिकित्सकक सल्लाह लिनुहोस्। (६० सेकेण्डमै निदाउने उपायको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

६. दुखेको ठाउँ निको नहुनु

शरीरको कुनै ठाउँमा हलुका मात्रै भएपनि निरन्तर दुखिरहन्छ र निको हुँदैन भने त्यसले छालाको क्यान्सरलाई सङ्केत गरेको हुन सक्छ। यसको अर्को कारण भनेको कमजोर प्रतिरक्षा प्रणाली र मधुमेह हुन सक्छ। यदि तपाईँलाई मधुमेह छ अथवा मोटोपना छ र यसरी कुनै अङ्गमा निरन्तर दुखिरहन्छ भने, त्यसलाई जँचाउन ढिलो नगर्नुहोस्। (टाउको दुख्यो? सञ्चो कसरी गराउने? जान्न यहाँ क्लिक गर्नुहोस्)

७. नङमा परिवर्तन देखा परेमा

तपाईँको आँखाले जस्तै नङले पनि तपाईँको स्वास्थ्यको बारेमा धेरै कुराहरू बताउन सक्दछ। तपाईँको खाने बानी, वंशाणुगत गुण र तपाईँको शरीरमा भएको रोगको बारेमा पनि नङले विस्तृत जानकारी दिन सक्दछ। यसले तपाईँलाई रक्तअल्पता भएको छ-छैन भनेर पनि सङ्केत दिन सक्दछ। नङभित्र रगत जमेको छ भने त्यसले रगतमा सङ्क्रमण भएको छ भनेर जनाउँदछ भने लामो समयसम्म नङभित्र कालो/खैरो रङको दागले क्यान्सरलाई सङ्केत गर्दछ। यति सानो-सानो कुरामा पनि किन हस्पिटल गैराख्नु भनेर तपाईँले हेलचेक्र्याईँ गरिराख्नुभएको छ भने तपाईँले ठूलो भूल गरिराख्नुभएको छ।

“स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो”, शरीर स्वस्थ रहे मात्र आफूले चाहेअनुसारको काम गर्न सकिन्छ। त्यसैले आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नु जरुरी हुन्छ। सानो भन्दा सानो लक्षणले पनि ठूलो भन्दा ठूलो समस्याको सङ्केत गरिरहेको हुन्छ।