१० फागुन, काठमाडौं ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले काठमाण्डौमा गरेको कार्यक्रममाा प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्ने गरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं ।’

यादवले आयोगले निश्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताए । उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने, ‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ।’

उनले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने बताए । यादवले आफूले अव चूनौति भन्दापनि प्रशस्त अवसरहरु देखेको उल्लेख गर्दै भने, ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ ।’

त्यस्तै उनले नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै भने, ‘कुनैपनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेकोे छ ।’

उनले सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताए । यादवले हाम्रो जीवनसँग जोडिएको र अधिकार खोसिएको अवस्थामा हुन लागेको चुनाव अति आवश्यक रहेको बताए । उनले अन्र्तराष्ट्रिय जगतको पनि सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरे ।

यादवले चुनावको लागि अति आवश्यक मतपत्र जनक शिक्षा सामाग्रीको क्षमताले मात्रै नभ्याउने भएकोले के गर्ने भन्नेमा पनि छलफल भैरहेको बताए ।

उनले थपे, ‘त्यस्तै व्यालेट बक्सपनि अन्यत्रबाट ल्याउनुपर्छ, ८० लिटरको २५ हजार बक्स चाहिन्छ, प्लाष्टिक पारदर्शीको बक्स चाहिन्छ ।’

उनले विद्युत्तीय भोटिङ् मेशिनको सम्भावना नभएको समेत स्पष्ट पारे । यादवले भने, ‘अब मतपत्रमै निर्वाचन हुन्छ ।’ नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको उनको भनाई थियो ।