१३ भदौ, एजेन्सी ।

एक अर्का विरुद्ध आक्रमक रुपले प्रस्तुत हुने दुइ कोरियाबीचको सम्बन्ध अहिले नयाँ चरण प्रवेश गरेको छ । दक्षिण कोरियाको रेडक्रसले शुक्रवार अघि सारेको वर्किङ लेभलको वार्तालाई उत्तर कोरियाले सहजै स्वीकार गरेको छ । वार्ता आगामी सेप्टेम्बर सात तारिखका लागि तय भएको छ ।

सो वार्तामा सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्म चलेको युद्धका क्रममा अलग्गिएका परिवारलाई पुर्नमिलन गर्ने विषयमा छलफल हुने तय भएको दक्षिण कोरियाका एकिकरण मन्त्रालयले जनाएको छ । दुइ देशको भारी सुरक्षाले सुसज्जित सिमावर्ती गाउँ पान्मुन्जोमस्थित शान्ति घरमा दुइ पक्षका अधिकारीबीच वार्ता निश्चित भएको छ ।

korea war 4

एकिकरण मन्त्रालयले शनिवार अपरान्ह एक बजे सम्पर्क च्यानल मार्फत वार्तामा बस्न स्वीकार गरी उत्तरले पठाएको पत्र प्राप्त गरिएको जानकारी दिएको छ । गत मंगलबार कोरियाली प्रायद्धिपमा चुलिएको तनाब मत्थर गर्ने उद्धेश्यले दुइ कोरियाबीच चार दिन लामो सघन वार्ता पछि महत्वपुर्ण सहमति भएको थियो । वार्ता पछि एक अर्का विरुद्ध नरम देखिएका दुइ कोरियाले आउदो महान पर्व छुसकको आसपासमा बिछोडिएका परिवारबीच पुर्नमिलन गराउने तयारीमा छन् ।

पुनर्मिलन कार्यक्रम सेप्टेम्बर सत्ताइसमा गर्ने खबर सार्वजानिक गरिएपनि तयारी पुरा नभएकोले अक्टोबर सम्म सर्न सक्ने अधिकारीहरुले जनाएका छन् । तीन वर्ष लामो युद्धका क्रममा हजारौ परिवारका सदस्य बिछोड भएका थिए ।

कोरियाको रेडक्रसका अनुसार दक्षिण कोरियामा मात्र युद्धका कारण परिवारका सदस्य बिछोडिएकाको मध्ये जिवित संख्या छैसठ्ठी हजार भन्दा बढी रहेको जनाएको छ । सरकारी तथ्याङ्क सिस्टमले एक लाख उन्तीस हजार छ सय अन्ठानब्बे जनाले परिवारबाट बिछोड भएको भनेर दर्ता गराएको र ती मध्ये आँधा जसो मृत्यु भैसकेको जनाएको छ ।