३० चैत, काठमाडौं ।
मेसी, सुवारेज र नेयमारजस्ता खतरनाक खेलाडी हुनुका बाबजुद बार्सिलोना च्याम्यिन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा युभेन्टस्सँग शर्मनाक पराजय बेहोर्न बाध्य भएका छ । गएराती इटालियन क्लब युभेन्टस्सँग भएको पहिलो लेगमा बार्सिलोना आफ्नो स्वभाविक खेल प्रदर्शन पनि गर्न नसकी युभेन्टस्सँग ३–० गोलले स्तब्ध भएको हो । जितसँगै युभेन्टस्ले २०१५ को च्याम्पियन्स लिग फाइनलमा हारेको ३–१ को बदलासमेत लिएको छ ।

ठूलो अन्तरको पराजयसँग बार्सिलोनाको सेमिफाइनल पुग्ने सपना निक्कै कमजोर भएको छ । अब आफ्नै मैदानमा १९ अप्रिलमा हुने खेलमा कम्तिमा ४–० गोल अन्तरको जित निकाल्न सकेमात्र बार्सिलोना सेमिफाइनल प्रवेश गर्नेछ । प्रिक्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेनविरुद्ध पहिलो लेगमा ४–० पराजित हुनुका बाबजुद बार्सिलोना दोस्रो लेगमा उत्कृष्ट पुनरागमनका साथ ६–१ को नतिजा निकाल्न सफल भएको थियो । तर, च्याम्पियन्स लिगमा पुनः त्यस्तै कमव्याक गर्न बार्सिलोनालाई सजिलो छैन ।

अर्जेन्टिनी खेलाडी डायबाला नायक

अर्जेन्टिनी खेलाडी पाउलो डायबालाले खेल सुरु भएको सातौं मिनेटमैं बार्सिलोनाका डिफेन्डरलाई कुनै मौका नदिई गोल गरेका थिए ।

२२ मिनेटमा डायबालाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना झन अत्तालियो । त्यसपछि पनि बार्सिलोनाको मिडफिल्ड र फरवार्डबीच तालमेल हुन नसक्नु जस्ता कारणले बार्सिलोनाले गोल गर्न सकेन । बार्सिलोनाको गोलको प्रयासलाई युभेन्टस्सका खेलाडीले निस्तेज पारेका थिए । ५५ औं मिनेटमा प्राप्त कर्नरमा जिओर्जियो चिलेनीले प्राप्त बलमा हेडिङ गोल गरे । तेस्रो गोल खाएपछि बार्सिलोना झन् अत्तालिएको थियो । गोल गर्ने प्रयासमा बार्सिलोनाको युभेन्टस्को डिएरियाभित्र बल छिराउने प्रयास गरे पनि युभेन्टस्का रक्षक र अनुभवी गोलरक्षक जियानलुइजी बुफोनले निस्तेज पारेका थिए ।

डायबालाले आफूलाई विश्वकै सुपरस्टारमा उदाउँदै गरेको प्रमाणित गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।