विष्णु पौडेल
२९ फागुन, लिस्वन, पोर्चुगल

देशकै ठुलो दल नेपाली काग्रेसको युरोपमा रहेको भातृसंगठन जनसम्पर्क समितीमा आवद्द सदस्यहरुमा चुनावी सरगर्मी बढेको छ । युरोपको पोर्चुगल र बेल्जीयमा जनसम्पर्क समितीको निर्वाचन हुदैछ ।

आगामी निर्वाचनको लागि वेल्जीयम र पोर्चुगलमा काग्रेसीजनहरुको दौडधुप जारी छ । पोर्चुगलमा आसन्न्न अधिवेशनको लागि सहमतिको प्रयास जारी रहे पनि सहमति हुने संभावना कम देखिएको छ ।

सहमति नभएमा जनसम्पर्क समिति पोर्चुगलको पाचौ अधिवेशनले पहिलो पटक निर्वाचनद्धारा कार्यसमिति चयन गर्नेछ । यहि मार्च २६ गते पोर्चुगलको राजधानी लिस्वनमा केन्द्रीय प्रतिनिधीको रोहोवरमा अधिवेशनको उद्घाटन गरिने छ । तर अहिलेसम्म केन्द्रबाट कुन नेताको उपस्थिती हुने टुंगो लागेको छैन ।

केन्द्रीय प्रतिनिधी पठाउनको लागि पत्रचार भइसकेको समितिले जनाएको छ । विदेश विभाग प्रमुख सुरेन्द्र पाण्डे वा विश्वप्रकास कोइरालामध्ये एकजनाले अधिवेशनको उद्धाटन गर्ने बताइएको छ । सन २००७ मा पहिलो पटक पोर्चुगलमा जनसम्पर्क समिती गठन गरिएको थियो ।

पूर्ण हमाल र लक्ष्मी सापकोटाले क्रमश दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । नयाँ नेतृत्वका लागि यो पटक चार जना खरो रुपमा उत्रिएका छन् । जनसम्पर्क समिती पोर्चुगलमा केन्द्रमा जस्तो गुट उपगुट नभएपनि आफ्नो आफ्नो पक्षको उम्मेद्वारलाई जीताउनको लागि अघिल्लो पटक नेतृत्व लिएकाहरुले लविङ शुरु गरेका छन् ।

त्यसका लागि गोप्य भेलाको समेत आयोजना गरिएको जानकारी प्राप्त भएको छ । गोप्य भेलामा बार्गेनिङको लागि उम्मेदवारी दिने सम्मको विषयमा कुराकानी भएको बताइएको छ । नेतृत्वको लागि तिलक गैरे, सुशील शर्मा, विनोद घिमीरे र राजकुमार गौतमको नाम चर्चामा छ ।

चारै जनाले जनसम्पर्क समितको नेतृत्वको लागि आफू सक्षम भएको दावी गरेका छन् । यो संगै पहिलो पल्ट नेतृत्वको लागि चार जनाको दावेदारी परेको हो । अघिल्ला अधिवेशनहरुमा हमाल र सापकोटालाई निर्विरोध चयन भएका थिए ।

त्यसैगरि महामन्त्रीमा मध्यमार्गी धारको नेतृत्व गर्ने बैकुण्ठ गौतम, दामोदर सुवेदी र अर्जुन सापकोटाले दावी गरेका छन् । पोर्चुगलमा २० हजार भन्दा बढी नेपालीहरु रहेका छन् । जजनसम्पर्क समितिले पोर्चुगलमा आफ्ना ५ सय भन्दा बढी कृयाशिल सदस्य रहेको दावी गरेको छ ।

यसैवीच जनसम्पर्क समिति बेल्जीयमा सहमतिको प्रयास असफल भएपछि अन्तत निर्वाचन हुने भएको छ । बेल्जीयममा सहमतिको लागि करिव ४ घण्टा छलफल भएको थियो । अध्यक्षका प्रत्यासीहरुले आ–आफ्नो अडान नछाडे पछि सहमती हुन नसकेको हो । जनसम्पर्क समिती बेल्जीयमको नेतृत्वको लागि सीता सापकोटा, अनुजा प्रधान र माधव सापकोटाको उम्मेद्वारी परेको छ ।

अनुजा प्रधानले भने सहमतीको लागि आफूले उम्मवद्वारी फिर्ता लिने बताउदै आएकी थिइन् । अध्यक्षका तीनै जना प्रत्यासीहरुले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । वेल्जीयममा करिव ६ हजार नेपाली रहेकोमा छन् १ हजार ३ सय २६ जना जनसम्पर्क समितीका सदस्य रहेका छन् ।