१२ जेठ, म्याग्दी ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी नगरभित्र योजनाबद्ध तवरले विकासका कार्यक्रम अघि बढाइने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिका लागि बेनीस्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रका हरेक बस्तीमा अनुभूति हुनेगरी योजनाबद्धरुपमा विकासका योजनामा बजेट विनियोजन गर्ने र योजना निर्माण प्रक्रियामा सबै सरोकारवालाको सहभागिता गराउने प्रतिबद्धता समेत जनाए ।

‘‘ अहिले नै यो काम गर्छु भन्ने र बोल्ने अवस्था छैन, विकासकालागि योजना बनाउनुपर्ने आवश्यकता छ, गर्नुपर्ने काम धेरै भएकाले योजनाबद्ध तवरले अगाडि बढ्ने सोच बनाएको छु,’’–प्रमुख श्रेष्ठले भने ।

समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडा नं– ७ र ८ बाट निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस