दुबै चरणका स्थानिय निर्वाचन भरतपुरको चुनावी ‘संग्राम’को छायाँमा पर्यो। भरतपुर महानगरपालिकाको मेयरको चुनाव धेरै कारणले लगातार चर्चामा रह्यो।

मतपत्र च्यातिनु अघि देखीनै भरतपुर देशको स्थानिय चुनावको इपिसेन्टर बनेको थियो।

मतदान, मतगणना, मतपत्र च्यातिनु, निर्वाचन आयोगको निर्णय, सर्वोच्चको आदेश, फेरी मतदान, फेरी मतगणनाको सर्कुलर हाइभोल्टेज ड्रामा पछि अन्तत: रेणु दाहालको पोल्टामा जीत आयो।

तर जीत विवाद रहित रहेन् र एमालेले यो जीतमा अनेका प्रश्न उठाउने मौका पाएको छ यद्धपि जीत भने जीत नै हो। त्यसो भए यो संघर्षपुर्ण जीतको के अर्थ लाग्छ ?

रेणुको मेयरमा जीत उनकै लागि मात्रै हो कि उनका पिता प्रचण्डलाई पनि खास छ ? यो  जीतको स्वयम माओवादी केन्द्रको लागि कति अर्थ छ ?

रेणु दाहालले यसअघि संविधानसभाको निर्वाचनमा  हार बेहोरेकी थिइन् । यसपटको जीतले  उनको राजनीति करियरमा उर्जा भर्ने छ। राजनीतिको एउटा आधार उर्जा र उत्साह पनि हो। अघिल्लो हारको भर्पाइ यो चुनावी नतिजाले रेणुलाई दिएको छ ।

शक्तिशाली र चर्चित पिताको सन्तान हुनु सधै फाइदाजनक हँदैन भन्ने उदाहरण पनि रेणु हुन् । रेणु यदि प्रचण्डकी छोरी हुन्नथिइन् भने भरतपुर यति चर्चामा हुने थिएन। नत उनलाई हराउन विपक्षीले यति जोर लगाउने थिए।

तर वास्तविकता के हो भने रेणु प्रचणडकी छोरी हुन् र उनले सकसपछी चुनाव जितेकी छिन्। र यो सकसपछीको जीतले अर्थ राख्छ। जीतले उनिसंगै उनका पिता र पिताले नेतृ्त्व गरेको पार्टीलाई पनि ठुलै स्केलमा  असर गर्दछ।

प्रचण्डका छोरीको हुनुको बेफाइदालाई उनले यसपटक, विवादास्पद रुपमै सही, सफलतापुर्वक सामना गरेकी हुन्। उनलाई राजनीतिमा प्रचण्डका सबै भन्दा सफल सन्तान भन्न मिल्छ। छोरा हुँदा हुँदै पिताको बिडो छोरीले थाम्ने संभावना नेपाली परिपेक्ष्यमा यसै उत्साहप्रद छँदैछ।

केही समय अघि सन्तान गुमाएको पिडाबाट गुज्रिएका प्रचण्डलाई छोरीको सफलताले व्यक्तिगत सन्तुष्टी र उत्साह दिएकै होला। यसभन्दा अघि बढेर भरतपुरलाई उनले आफ्नो चुनावी घर बनाउने संभावना पनि यही जीतले दिएको छ।

नत्र प्रचण्ड लगातार टुरिष्ट उम्मेदवार जस्ता देखिएका थिए। काठमाडौं, रोल्पा, वा सिराह कुनै पनि ठाउँलाई आफ्नो बनाउन सकेको जस्तो देखिएको थिएन्।

माओवादी केन्द्रले पनि जीत हासिल गरेको यो पहिलो महानगरपालिका रह्यो। पार्टीका हिसावले पनि यो जीतले महत्व राख्छ।

यो जीतको अर्को सघन अर्थ पनि छ । यो कांग्रेस र एमाओवादी केन्द्र गठबन्धनको जीत पनि हो। गठबन्धन  भरतपुरको बिवाद र आरोह अवरोहकाबीच पनि कायम रह्यो। यसले केन्द्रमा प्रचण्ड र शेरबहादुर देउवाको सत्ता समिकरणलाई थप टेवा पुर्याउने देखिन्छ।