तपाईलाइ थाहा छ, स्कुल, अस्पताल जस्ता सार्वजनिक ठाँउमा निलो वा हरियो रंगकै टबल, बेञ्चहरु राखिएका हुन्छन्? उपत्यकामा चल्ने साझा बसको रंग हरियै किन? सार्वजनिक स्थलमा तपाइले रातो रंगका कुर्सी, बोर्ड सायदै देख्नुहुन्न। यस्तो हुनुको पछाडी हामीले खासै ध्यान नदिने केहि कारणहरु छन्। त्यो हो, रंग अनि त्यसको मनोवैज्ञानिक प्रभाव। रंगले हाम्रो स्वभाव, बानी तथा भावनामै परिवर्तन ल्याउँछ। मानिसको मनोविज्ञानमा रंगको ठुलो भुमिका रहने गरेको छ।

किन रंगले हाम्रो जीवनमा ठुलो भुमिका खेल्छ?

रंग अन रंगले हामीमा ल्याउने प्रभाव नितान्त व्यक्तिगत हुन्छ साथै पुराना परम्परा अनि संस्कृतिसंग पनि जोडिएका हुन्छन्। जस्तो कि सेतो रंगलाइ कतै शुद्धता र धर्मको रुपमा अर्थाइन्छ भने कतै शोकको घडीमा प्रयोग गरिन्छ। रंगले समाज अनि व्यक्ति अनुसार फरक फरक रंग फेर्दछ।

हाम्रो शरिरमा अनि दिमागमा कस्तो भुमिका खेल्छ यी रंगहरुले?

रातो रंग

Red colorरातो रंगले हाम्रो संवेग, आवेग लगातयका विभिन्न भावनाहरुमा तीव्रता ल्याउछ। यसलाई सबैभन्दा जोशिलो रंग भन्न सकिन्छ। यसले हामीलाइ शारीरिक रुपमै प्रभाव पार्छ। रातो रंगले मुटुको धड्कन छिटो छिटो गर्ने देखि श्वासप्रश्वासकै गति बढाउछ। सामान्य तथा व्यासयिक प्रयोजनको लागि रातो रंगको लुगा लगाइदैन। रातो रंगले अन्यसंगको कुराकानीमा राम्रो भुमिका खेल्दैन। यसले मुटुको चालमा वृद्धि गर्ने हुनाले कुराकानी गर्न अर्को व्यक्तिमा हतार भइरहेको छ जस्तो भावना ल्याउछ, शान्त भएर बस्ने वातावरण बनाउदैन रातो रंगले।

रातो रंगलाइ कोठाको वातावरणको उर्जा बढाउने गर्दछ। रातो रंगले अल्छिपन पनि कम गर्दछ। भोकपनि जगाउछ यसको प्रभावले। कसैमा गहिरो प्रभावको लागि पनि रातो रंगको प्रयोग गरिन्छ।

निलो रंग

Blue colorनिलो रंगको प्रभाव सामन्यतया संसार भर एकै खालको छ। खुल्ला आकाश, सफा ताल, शान्त समुन्द्र कसलाइ मन नपर्ला? निलो रंगलाइ शान्तिको रंगको रुपमा लिइन्छ। चेतनाको रंगको रुपमा पनि बुझिन्छ यसलाइ। यसलाइ चिसोअनि उदासिको प्रतिक पनि मानिन्छ। कुनै जागिरको लागि इन्टरभ्युमा जादै हुनुहुन्छ भने निलो रंगको लुगा लगाउँदा निष्ठा अनि लगनशीलताको संकेत गराउँछ।

निलो रंगको कोठामा मानिसहरु बढी उत्पादनशील हुन्छन। सबैभन्दा बढी मनपराइने रंग भएतापनि यसले कुनै भावनात्मक प्रभाव भने पार्दैन। यसलाई सामन्यतया बढी काम गरिने कोठाहरुमा प्रयोग गरिदैन।

कालो रंग

black colorकालो रंगले शक्ति अनि अधिकारको संकेत गर्छ। यसले ज्ञान अनि बोद्धिकतालाइ जनाउछ। कालो रंग फेसनको लागि सबैभन्दा बढी प्रयोग गरिने रंग पनि हो।कालो रंगको लुगाले सामान्यतया अलि पातलो देखाउने गर्दछ। साथै केहि डरलाग्दो पनि देखाउँछ यसले। कालो रंगले प्रकाश, तातोपना देखि विभिन्न शक्तिहरुलाइ सोस्न सक्छ। त्यसैले यसलाइ सुरक्षाको लागि पनि प्रयोगमा ल्याइन्छ।

पहेंलो रंग

yellow colorसामाजिक सञ्जालमा च्याटको लागि प्रयोगमा ल्याइने ‘स्माइली’ पहेंलो रंगको किन हुन्छ? पहेंलो रंगले दिमागमा एउटा केमिकल पैदा गर्छ, सेरोटोनिन भन्ने।जसले ‘गुड मुड’ को लागि भुमिका खेल्छ। सेरोटोनिन केमिकले आत्मविश्वास अनि सकारात्मक सोचको लागि भुमिका खेल्छ। रिस कम गराउन पहेंलो रंगको कोठा प्रयोगमा ल्याइने चलन छ। यो रंगले उद्वेग, व्यग्रता, उत्सुकतालाइ पनि सक्रिय गर्छ जसले शारीरिक शक्तिमा पनि झट्ट वृद्धि गर्छ। आँखाको लागि सबैभन्दा गाह्रो हुन्छ यो रंग हेर्न।

सुन्तला रंग

orange colorरातो र पहेंलो रंगको मिसावट रंग हो सुन्तला रंग। यसले शारिरीक तथा मानसिकदुवै पक्षलाइ सक्रिय गर्छ। सुन्तला रंगको कोठामा पस्नासाथ केहि शक्ति वृद्धि भएझै अनुभव हुन्छ। यो रंगले ध्यान बढाउन मद्धत गर्छ साथै स्नायु प्रणालीमा तरङ पैदा गर्छ, ‘ल है ध्यानदिन पर्छ’ भन्दै। यो रंगको लुगाले चन्चलता ल्याउछ।

गुलाबी रंग

pink colorयो रंगले प्रभावशाली रंगको, मनोवैज्ञानिक तवरले। यो रंगले स्त्रीको भावना तथा वातावरणलाइ जनाउँछ। यो रंगको प्रभावमा मानिसहरु रिसाउन चाहेपनि रिसाउन नसक्ने हुन्छ। मुटुको धड्कन बढाउदैन यसले। रिस र चिन्ता कम गराउन यो रंगको प्रयोग गरिन्छ। तर अत्याधिक गुलाबी रंगले थकान अनि शारिरीक शक्तिमा कमी पनि ल्याउछ।

हरियो रंग

green colorसिंगारपटारको लागि सबैभन्दा बढी प्रयोगमा ल्याइने रंग हो हरियो। आँखाको लागि सहज अनि थकान भुलाउन र शारिरीक आरामको लागि यो रंगले भुमिका खेल्छ। यो रंगले आँखाको देख्ने शक्तिलाइ पनि राम्रो गर्ने रिसर्चरहरु बताउँछन्। हरियो संग मिसिएको पहेंलो अनि निलो रंगले शान्त अनि शक्तिमा वृद्धि गर्छ। हरियो रंगको कुर्सी तथा टेबलहरु सार्वजनिक स्थलमा प्रयोग गर्नुको पछाडी, यो रंगले मन शान्त गर्ने अनि सहजताले गर्दा हो।

सेतो रंग

white colorयो जुन रंगसंग पनि मिल्ने रंग हो। कालो रंगले सबै सोसे झै सेतो रंगले सबै परावर्तन गर्छ। यसलाइ पनि सुरक्षात्मक तवरले प्रयोग गरिन्छ तर कालो रंग जसरी प्रयोग गरिदैन। सफा अनि निर्दोषताको प्रतिक हो सेतो रंग। जीवाणुरहित भन्ने हेतुले अस्पतालमा डाक्टर अनि नर्सले सेतो रंगको लुगा पहिरन्छन। रिसर्च अनुसार, हात मिलाउन अप्ठ्यारो मान्ने मानिसहरुले सेतो रंगको कोठामा झन् हात मिलाउन चाहदैनन्, यो रंगले शान्त गराउने गर्दछ त्यसैले।

रंगले मानिसको स्वाभाव अनुसार फरक फरक प्रभाव पार्दछ। त्यसैले त मानिस अनुसार मन पर्ने रंग र मन नपर्ने रंग फरक हुन्छन। रंगको प्रयोगले मानसिक अनि शारिरीक दुवै पक्षमा सकारात्मक अनि नकारात्मक प्रभाव पार्छ। त्यसैले त इन्टेरियर डिजाइन अनि फेसनका अवधारणाहरुले संसार ढाक्दै छ। प्रत्यक्ष प्रभाव पार्ने पक्षहरुमा खेलाचि गर्न मिल्दैन। आफुलाइ सहज लाग्ने रंगहरुले सकारात्मक प्रभाव पार्छ। सामान्य लाग्ने यस्ता विषयले मानसिक रुपमा असाधारण भुमिका खेलिरहेको हुन्छ।