१० फागुन, कैलाली । कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ ।

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको चरम अभाव भएको र अहिले कुनै पनि समूहको रगत मौज्दात नभएको रक्त सञ्चार केन्द्र, धनगढीले जनाएको छ ।

blood bag

नेपाल रेडक्रस सोसाइटी मातहतको रक्तसञ्चार केन्द्र, धनगढीमा एक हप्तायता कुनै पनि समूहको रगत एक पोका पनि मौज्दात नरहेको रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले बताएका छन । उनले रक्तसञ्चार केन्द्रले रगत दान गरेमा स्वास्थ्यमा कुनै असर पर्दैन भन्ने कुरा बुझाउन नसक्नु र नियमित रगत दान गर्ने व्यक्तिले निरन्तर रुपमा रक्तदान नगर्नुलगायतका कारणले रगतको अभाव भएको जानकारी दिएका छन ।

मानव शरीरमा रगत निश्चित अनुपातमा हुने गर्दछ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ ।

रक्तसञ्चार केन्द्रले गएको माघसम्म मात्रै गत आर्थिक वर्षको मौज्दात दुई पोका र यस आवमा दुई हजार २९५ गरी, दुई हजार २९७ पोका रगत वितरण गरेको छ ।

मानिसको शरीरमा बन्ने रगतको आयु १२० दिन मात्रै हुने भएकाले नियमित रगत दान गरेमा स्वास्थ्य झन् राम्रो हुने तथा फूर्ति आउने सेती अञ्चल अस्पतालमा कार्यरत डा गणेश सिंहले बताएका छन ।

स्वास्थ्यकर्मीको भनाइअनुसार एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा आठ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन । रासस