कृष्ण के.सी.

किन रोइरहनुहुन्छ आमा ? बारम्बार दोहोरीएर तेर्सिरहने छोरीका यी प्रश्नहरूको जवाफ अहिलेसम्म पनि मैले दिने हिम्मत गरेकी छैन l मेराआँखाबाट तारन्तार झरिरहने आँशुका भाव बुझेर मलाई सान्तवना दिने पनि ऊ अँझै भैसकेकी छैने l ऊ सानी छे त्यसैले अन्जान बनिदिन्छे l

रुनुको अर्थ दुख व्यक्त गर्नु हो छोरी भनेर अर्थाउन धेरै पटक खोजे तर सकिन l किनकि उसले कारण सोधी भने म उसलाई भन्न सक्ने अवस्थामा पनि छैन l समयको रफ्तारले उसलाई पनि डोराउदै लैजादा आजाभोलि ऊ ठुली हुदै गएकी छे l

सकेसम्म बुझ्ने कोशिस गर्छे l कतै जादाँ र आउँदा आजकल उसले पहिला मेरो आँखामा हेर्ने गर्छे l मेरो मुखाकृतको भावलाई बुझेर सकेसम्मको पढ्ने कोशिस गर्छे तर सक्दिने l बुझ्ने आखिर उमेरको परिपक्कताले न हो l भर्खर त ऊ १० वर्षकी हुदै छे l

लेखक

लेखक

मैले आफ्ना दुखहरू यसै गरी लुकाउदै गरेको पनि समयले एक वर्षको पुरै फन्को मारिसकेछ l नितान्त एक्लो भएर प्रतिक्षारत रहेको मेरो मनको धैर्यताको बाध फुटेर कहिल्लै छताछुल्ल भएन l

तर मेरो मन मेरो समर्पण र मेरो मायाको अर्थ बुझ्ने मेरो आफ्नै भाग्यले नबुझी दिए पछि रोषहरू आवेग बनेर आँखाबाट पोखिदा रहेछन जसलाई थाम्न सकीदो पनिरहेनछ l

मेरो इमान्दारिताले भोगेका मेरा यिनै दुखहरू कसैले थाहा नपाउन भनेर गाउ समाज आफन्त इष्टमित्रबाट अलग्गिएर बसे तर आफूसँग रहेकी छोरीलाई छल्न कहिल्लै सकिन l बारम्बार सोधिरहन्छे – आमा किन रुनुहुन्छ ?

आपसी समझदारीमै सपनाका ठुला ठुला चित्रहरू कोरेर त्यसमा यथार्थताको रंग भर्न भनेर माया र अपनत्वका सबै मिठासहरूलाई केही समयको लागि बन्धकीमा राखेर सात समुद्र पारी उडेर गएको एक वर्षमै ऊ अचेतअवस्थामा फर्किएर सरकारी अस्पतालको बेडमा लम्पसार परेर पल्टिएको छ l

जिन्दगी जिउने सरल बाटोको सपना एक रातको कल्पनामा हामीले चित्र कोरेर रंग भर्ने जमर्को गर्दा आइपरेको यो दैवीय विपत्तिले देखाएको अँध्यारो भबिष्य बीचरा छोरीलाई के थाहा हुन्छ र ! उसले मेरा आँखाबाट झरेका आँशुको अर्थ बुझोस् l खाडी मुलुकमा गएर हाम्रो लागि भनेर गरेको उसको बाबाको मेहनतबाट हामीले केवल प्राप्तिको आशा मात्र त गरेका थियौ l

गुमाउनुको पीडा कस्तो हुन्छ भोग्ने त उसैले थियो भोगेको छ त्यसैले त ऊ अचेत छ l जिन्दगीको चित्र हामी दुवैले कोरे पनि रंग भर्ने तआखिरमा उसैले थियो l मैले त उसको मेहनतमा केवल उर्जा थपिदिने मात्र त थियो l हर सम्भव प्रयत्न गरेकी पनि थिए l

आफ्नै रोजाइमा आफैले गरेको निर्णयले ल्याई दिएको यो बिपत्तिमा कसैसँग दयाको भिख मागेर कायर बन्न मलाई मेरो नैतिकताले दिएन त्यसैले रुन्छु एकान्तमा आफ्नै भाग्यलाई दोष दिएर l

जति एकान्तमा रोए पनि मेरा नयनमा देखिने आँशु म सँगसँगै रहने छोरीलाई लुकाउन नसक्दा छोरीको प्रश्नको उत्तर दिने आँट अहिलेसम्म गर्न सकेकी छैन l

जादाअतृप्त माया र अपनत्वको कोसेली दिएर उसको हृदयलाई भरिलो बनाएर पठाएको थिए l आउदा सबै चिजबाट ऊ रित्तो बनेर फर्किएको छ l म बेस्करी जानकार छु उसले चाहेर रित्तिएको कदापि होइन l

मैले नै देखेको सपनामा मैले नै राखेको प्रस्तावलाई उसले सहृदय स्वीकार गर्दा भारी मन लगाएर उसले मेरो अँगालोबाट फुत्किनु परेको थियो l कहाँ बिर्सन सक्छु त्यो अन्तिम रात जुन रात उसले मलाई अघाउन्जेल हेरेर मैले नदेख्ने गरी मेरो सामिप्यताबाट हुने असजिलो र एक्लोपनको अनुभूतिलाई बलजफ्ती आफ्नो नयनमा लुकाइरहेको थियो l

अस्ति उसको चाहना थिए l हिजो उसैकी भएँ l आज किन पराई हुनु ? दिन रात उसैको स्याहार सम्भारमा समर्पित छु l अचेत भएर फर्किएको आज ऊ बोल्न सक्नेसम्म भएको छ l बोल्छ तर काटिएर ठुटो जस्तै भएका उसका दुवै अपाङ्ग हात बारम्बार मलाई देखाएर एकनासले रोइ मात्र रहन्छ l

उसको रुवाइ उसको पीडा र आँखा अगाडि झल्झल्ती देखिने भविष्यको भारी बोकेर जब म कोठामा फर्किन्छु मेरो अनुहार पढेर भाव बुझ्न असमर्थ छोरीले सोध्छे -आमा हजुर जहिले पनि किन रुनुहुन्छ ?

जाउलो बनाएर अस्पताल जानु अनि अपाङ्ग शरीरको स्याहार सम्भार गरेर साझा फेरि छोरीको रेखदेखमा खटिनु महिनौ देखिको मेरो दैनिकी बनेको छ l

कोठाबाट अस्पताल जादा र आउदा मेरा जिन्दगीका अतित पढेर सिध्याउछु l वर्तमान देखेर फर्कन्छु अनि भबिष्य सम्झिएर डराउछु l अस्पतालको बेडमा बसेर अपनत्वले मुसार्दै जब म उसको कपाल कोरी दिन्छु अनायासै उसले खसालेका लाचारीका आँशु अन्जुली भरि जम्मा गरेर घुटुक्क पिउन मन लाग्छ l

मिल्ने भए आफ्नो हात नै काटेर जोडी दिउ जस्तो लाग्छ l जिन्दगी देखि हरेस खाएर फुस्रो परेको उसको उजाड अनुहार सम्झिदै हरेक साझ म कोठामा फर्किदा ऊ सपाङ्ग छदा मेरा लागि भनेर पसिना र रगत बेचेर पठाएका धनका बिटाहरू यही बाटो भएर आफू बस्ने कोठामा लैजादै गरेको सम्झनाले बेस्करी चिथोर्छ कोपर्छ अनि एका देशको कथा भएर झमक्क पर्न लागेको साझमा हराई दिन्छ l हिजो उसको कमाइ थियो धन च्यापेर सपना बुन्दै यही बाटो हुदै आफ्नो कोठामा फर्किन्थे l आज अन्यौलताको भबिष्य च्यापेर फर्किन्छु l

” भाग्यमानिरहेछु तिम्रो काखमा छु आफ्नै देशको अस्पतालको सैयामा पल्टिएको छु l म जस्ता थुप्रै दाजुभाइ अचेत भएर बिदेशी अस्पतालका सैयामा आफ्ना जिन्दगीका अन्तिम दिनहरू गनिरहेका छन् l “

निदाएर आँखा खोल्न साथ जतिखेर पनि यही बाक्य मात्र दोहोराइरहन्छ l खाडी मुलुकमा थुप्रो नेपालीले भोगेका कथाहरू सुन्दा सुन्दा आजभोलि म पनि खाडी मय भैसकेकी छु l नचाहेर पनि सुन्नु मेरो बाध्यता भएको छ l

बिगतका थुप्रै रमाइला गफ गरेर मेरो माया र अपनत्वले आस्वस्त पार्ने मेरो प्रयासलाई उसले भोगेर देखेको खाडीको दुखले बारम्बार घोचिरहदा पसिनाले निथ्रुक्क भैदिन्छ l

मलाई के थाहा हाम्रा आवश्यकतामा उसले खाडीको उखर्माउलो गर्मीमा यसरी थुप्रै पसिनाहरू बगाएको थियो भनेर l आफूले भोगेको पीडाले अत्तल्लिएर जब ऊ बिछौनामा कोल्टे फेर्न खोज्छ उसको अनुहार पसिनाले भिजेर निथ्रुक्क भै दिन्छ l पसिना पुछ्दै बाँकी जीवन जिउने कलाका थुप्रै उपयाहरूले म उसलाई सम्झाइरहन्छु l तर ऊ आस्वस्त पनि हुन सक्दैन र बाँच्ने अभिलाषा पनि राख्दैन l

” सग्ला हात खुट्टा बजारेर एउटा जीउ ढाक्न र एक गास खान नसकिने मेरो देशमा दुवै हात गुमाएको अपाङ्ग शरीर लिएर कसरी बाँच्न सकुला र ! ” ओच्छ्यानमा पल्टिएर सधैं एक्कोहोरो बरबराइ मात्र रहन्छ l

ऊ जादा लागेको ऋण तिरेर भर्खर सपनाको फूलबुट्टे रुमाल बुनिरहदा हराएको मेरो जिन्दगीको सियो अहिले भुत्ते अवस्थामा भेटिएको छ l भुत्ते किन छ कसरी भुत्ते भएको हो छोरीले बुझ्दैने l बुझाउने मेरो हिम्मत पनि छैन l

सिरानीको आड लगाएर एक्लो ओच्छ्यान बसेर जीवन जिउनुको सार्थकता खोज्छु l केवल उसैको अपाङ्ग शरीर आँखा वारिपरो आइ दिन्छन l ऊ सपाङ्ग थियो र त मैले सपना बुनेको थिए l अहिले ऊ अपाङ्ग भएको छ अब उसलाई मैले सपना बुन्न दिनु पर्छ l उसले बुनेको सपनामा अब मैले रंग भर्ने कोशिस गर्नु पर्छ l

आखिर ऊ मेरै त हो मेरै भएर बाँच्न सिकाउनु पर्छ l हात छैनन् त के भयो र बाँकी त सबै उसँगै छ l उसले नै कमाउनु पर्छ भन्ने मात्र त छैन नि l परिस्थितिको सामाना गरेर उसलाइसँगै राखेर बाँच्न सिकाए भने पो त माया र अपनत्वको अर्थ हुने छ l अन्यथा स्वार्थ बाहेक केही हुने छैन l मन बुझाउछु,हिम्मत गर्छु र दरिलो आँट लिएर सधैं उसैको सामिप्यतामा गएर अघाउन्जेल उसलाई हेरिरहन्छु l

” आफै बिष पिएर मर्न नसक्ने म अभागीलाई बिष पिलाई देऊ म मर्न चाहन्छु l “

एक साझ फर्किदै गर्दा उसले ठुलै हिम्मत बटुलेर मलाई एक कोहोरो हेर्दै भनेको थियो l कुनै वास्ता गरिन l बाटोभरी रुदै फर्किए l मर्नु पनि कहिलेकाहिरहर बन्दो रहेछ l

परिस्थितिले उसलाई मर्न सजिलो बनाएको छ तर यथार्थ धेरै टाढा छ l पुरुष प्रधान समाजमा जन्मिएर हुर्किएको उसले पुरुषत्वको कर्तव्य बोध गरेको होला तर एउटी कर्तव्य परायण नारीको दायित्वलाई उसले कहा बुझ्न सकेको छ र l

दायित्व र कर्तव्यवाट विमुख भएर उसले समाजमा सुने जस्तै वा उसले सोचे जस्तै यदि मैले गरे भने नारी भएर जन्मिएर जिन्दगीसँगै जिउने रसँगै मर्ने भनेर गरेको सम्झौता वा बाचा बन्धनको के अर्थ रह्यो र l

हातभरी फूलको गुच्छा लिएर आफ्नो बाबालाई भेटेरअतित सम्झिदै आफ्ना बाबासँग खेल्न व्यग्रता साचेर बसेकी छोरी अर्को दिन मेरो फरियाको छेउ समातेर मेरो पछि लागेर आफ्नो बाबालाई भेट्न अस्पतालको सैयामा पुगी l

आफ्नो बाबालाई मायाले भरिएको मन लिएर गम्लङ्गअँगालो हाल्दा उसले देखेको त्यसबेलाको दृश्यले आजसम्म मैले लुकाएर राखेको मेरो रुवाइको अर्थ र भाव स्पष्ट बुझेको अनुभूतिमा म भित्र भित्र दुखेर पनि सन्चो मानिरहेको थिए l सायद यही नै रहेछ माया र अपनत्वको परिभाषा l

अस्पतालको त्यो मधुर कोठाको झ्यालबाट बाहिरे देखिने उज्यालोले त्यही अनुभूति गरेको आभास भै रहेको थियो l छोरी र बाबाको रगतको नाताले म भित्रको मायालाई पनि खल्लो बनाई दिएको अनुभूतिले भने म छटपटाइरहेकी थिए l