१ साउन, काठमाडौं । निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका छवटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो ।

आयुक्त नरेन्द्र दाहालले छवटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई दलको मान्यता प्रदान गरेको जानकारी दिए । उनले भने, राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय भएको छैन ।

यसैगरी, आयोगको बैठकले पाँचवटा राजनीतिक दललाई दर्ता गरेको छ ।

पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिक रुपमा दलको मान्यता पाएको छ । यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद्, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली काँग्रेस (बिपी) लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।