ज्ञानेन्द्र न्यौपाने
३ भदौ, रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा भगवान महादेवको दर्शनार्थ पुत्रदा एकादशीदेखी जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ श्रद्धालु भक्तजन तीर्थ गई निकै भीड हुने गर्दछ ।

पौराणिक कथनअनुसार समुद्र मन्थन गर्दा हलाहल नामक कालकुट विष निस्केको र समुद्रमा निस्केको विष छोडीदिँदा सम्पूर्ण चराचर प्राणी जगत नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि गोसाइबाबाले त्यो विष पान गरी घाँटीमै राखेर प्राणी जगतको रक्षा गरेको थियो ।

प्राणी जलाउने विषाधि भगवान शङ्करले जिम्मा लिई हिँडेपछि भगवान शङ्करलाई औडाहा र छटपटी भयो, खङ्रङ्गै घाँटी सुक्यो, शीतल ठाउँ र पानीको खोजीमा जाँदा सत्ययुगको निलादी पर्वत वर्तमान अवस्थाको बाग्मती अञ्चल रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं ६ को उच्च भागमा विश्राम लिनुभएको धार्मिक मान्यता रहिआएको छ । त्यसैले उहाँको दर्शनार्थ हरेक वर्ष जनैपूर्णिमा र गङ्गा दशहरा पर्वको अवसरमा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान र पूजा आराधना गर्ने परम्परा रहिआएको छ ।

Gosaikundaभगवान् शङ्कर (गोसाइ बाबा) विराजमान रहनुभएको पौराणिक धार्मिक कुण्डमा पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा भई धनधान्य हुने जनविश्वासअनुरूप काठमाडौँको बालाजु बसपार्क हुँदै रानीवन, रानीपौवा, पिपलटार, बट्टार, त्रिशूलीको ढुङ्गे, उत्तरगया वेत्रावती, ऐतिहासिक कालीकास्थान, गोम्बुडाँडा, राम्चे, ग्राङ, ठाडे, धुन्चे, चन्दनवारी, लौरिविनायक हुँदै भक्तजन निलाद्री पर्वतको पौराणिक धार्मिक गोसाइँकुण्ड पुग्ने गर्दछन् ।

चार धाममध्ये एक धामका रूपमा मानिने गोसाइँकुण्डको ठूलो धार्मिक मेला यस वर्ष भदौ १ गते पुत्रदा एकादशीदेखि भदौ ५ गते ऋषितर्पणी (रक्षा वन्दन)को दिनसम्म सञ्चालन हुने र सो अवधिमा भक्तजनको ओहोरदोहोर भइरहने गर्दछ । पूर्णिमाको दिन पितृ तर्पण गर्नाले दिवङ्गत पुर्खाको आत्मलाई शान्ति मिल्ने र भूतप्रेतको भय नहुने विश्वाससमेत रही आएको छ ।

कुण्डमा नुहाउँदाको विशेषता
भक्तजनहरू धुन्चे र स्याफ्रुको तिवारी बगरदेखि गोसाइँकुण्डसम्म उकालो बाटो हिँड्दा स्याँस्याँ र फ्याँफ्याँ गर्दै थकित भएर कुण्ड पुग्छन् र केहीबेरको विश्रामपश्चात पौराणिक धार्मिक कुण्डमा डुबुल्की मार्छन् । नुहाउँदा शरीरका सबै थकाई एकसाथ हराई मन चङ्गा हुने र मनभित्रबाट कल्पित चिन्ताजनक विषयहरू सबै बिर्सी नयाँ सोच र नयाँ जाँगर बढ्ने नै प्रमुख विशेषता हो ।

पूजा गर्दा अपनाउनुपर्ने विधि
गोसाइँकुण्डमा दह बन्नुपूर्व कुण्डको उत्तरतर्फ शङ्कर भगवान्ले त्रिशूल प्रहार गरी उत्पत्ति गराउनुभएको तीन धारामा र कुण्ड तथा मानव निर्मित मन्दिरमा समेत धूप, बत्ती, जौ, तिल, जट्टावाला नरिवल, श्रीखण्ड वा केशरी, गाईको घ्यू, बेलपत्र, सरस्यु, वसाहा, ताम्रा दियोजस्ता सामग्री चढाइ पूजा गर्नाले जानेर वा अन्जानमा गरेका सबै पापबाट मोक्ष भई नयाँ सोच जागरण आउने मान्यता रही आएको छ । जिन्दगीमा एकपटक भए पनि कुण्ड पुग्नै पर्ने विश्वाससमेत रहेको छ ।

तीर्थ जानुपूर्व पूरा गर्नुपर्ने विधि
घरमै सबै रिसराग छोडी कुल देवतासँग बिदा मागी ॐ नमोः शिवायः जप्दै वेत्रावती उत्तरगया घाटमा दाह्री कपाल मुन्डन र गङ्गा पूजन पितृ तर्पणपश्चात श्रीहरि सम्झँदै गोसाइँकुण्डको यात्रा अगाडि बढाउने र कुण्डमा पुगी स्नानपश्चात कुण्डको परिक्रमा गर्नुपर्दछ । सके सात र नसके एकपटक भए पनि साथीलाई हात समाउन लगाई कुण्डमा डुबुल्की मार्नुपर्ने मान्यता रहेको छ ।

यात्राका क्रममा अपनाउनुपर्ने सावधानी
राजधानी काठमाडौँको बालाजु माछापोखरीदेखि १२० किलोमिटर उत्तर धुन्चेसम्म कालोपत्रे गरेको सडक भए पनि दुई दशक अगाडिदेखि राम्चे तथा मूलखर्क क्षेत्र पहिरोले वार्षायाममा सडक भत्काउने समस्याका कारण
केही भाग हिँड्नुपर्ने हुन्छ ।
पहिरो क्षेत्रमा ढुङ्गासमेत लड्न सक्ने भएबाट सावधानीपूर्वक हिँड्ने, धुन्चेबाट तिवारी बगर एक घण्टाको पैदल यात्रापछि उकालो सुरु हुने र लौरिविनायक पुगेपछि लेक लाग्ने समस्या आउने र स्वाँस्वाँ हुने, बान्ता हुने, वाकवाक लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने समस्या आउन सक्छ । त्यस्तो अवस्था पार गर्न प्रशस्त पानी पिउने, रित्तो पेट नराख्ने, लसुन अदुवा, कागती सेवन गर्ने, तुलसीको गमला बनाई गलामा भिरेर तुलसी पातको अक्सिजन लिँदै जाँदा आरमदायी ढङ्गबाट गोसाइँकुण्ड पुगी भगवानको दर्शन पाइने यहाँका अनुभवी बूढापाकाको सल्लाह सुझाव रहेको छ ।

उपचारको पहुँच
विगत १५ वर्षदेखि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा लेक लाग्ने समस्याको समाधान गर्न अध्ययन गरी वर्तमान अवस्थामा केही वर्ष अगाडिबाट अक्सिजन सिलिन्डर, औषधीसहित दक्ष चिकित्सक पठाउने, लौरिविनायकमा जिल्ला स्वाथ्य कार्यालय रसुवाले चिकित्सक र औषधि पठाउने, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको गणमा रहने चिकित्सकहरूले चोलङ्पाटीमा स्वाथ्य शिविर सञ्चालन गर्ने गर्छन् । रेडक्रसको उपचार तथा उद्धार घुम्ती गस्तीले भक्तजनमाझ आइपर्ने थप समस्या समाधान गर्न सहयोग गर्दछ । यस वर्ष तिवारी बगरमा ग्रिन सिटी अस्पताल र पासाङल्हामु यातायात समितिले लेक लाग्ने समस्याका बारेमा जागरण अभियान र शिविर सञ्चालन गरेको छ ।

हिँड्न नसक्नेका लागि उपलब्ध सुविधा
पहिला पहिला बाटो, पुल नहुँदा उकाली ओराली भञ्याङ चौतारी पार गर्दै घरमा आफ्ना भावी सन्ततिलाई म गोसाइँथान जानलागेँ म फर्किएर आएँ भने आइहालेँ आइन भने देउपित्र इष्टमित्र सबैलाई सम्मान गर्दै जीवन निर्वाह गरी बस्नु भन्ने सन्देश छोडी ६ महिना लगाएर यस क्षेत्रको तीर्थ गर्ने गरेको भनाइ बूढापाकाबाट सुनिँदै आएको छ । अहिले विकासका पूर्वाधारको लहर फैलँदा एकै दिन धुन्चे र दोस्रो दिन कुण्ड पुग्ने सहज वातावरण बनेको छ । यतिखेर व्यवसायीहरूले हिमाली क्षेत्रमा हिँड्न नसक्ने भक्तजनका लागि चन्दनवारीदेखि गोसाइँकुण्डसम्म घोडाले पुर्याउने र अर्कोतर्फ फिस्टेल, माउण्टेन, डायनेस्टिक एयर कम्पनीका हेलिकप्टरले राजधानी काठमाडौदेखि गोसाइँकुण्डसम्म एक घण्टाभित्रै तीर्थ गराई फर्काउने व्यवस्थाले समेत यात्रुमाझ झनै उत्साह थपिएको पाइन्छ ।

गोसाइँकुण्डको मेला व्यवस्थापन र सुरक्षा प्रबन्ध
धार्मिक एवम् पौराणिक गोसाइँकुण्डमा गङ्गादशहरा पर्वअन्तर्गत हजारौँ र जनैपूर्णिमाको अवसरमा दशौँ हजारभन्दा बढी भक्तजन एकसाथ आइपुग्ने भएबाट भोजन, बास, उपचार, यातायात र सुरक्षा मिलाउन गोसाइँकुण्ड क्षेत्र विकास समितिलगायत यहाँका हरेक होटल व्यवसायी, स्काउट, यातायात समिति, स्थानीय बासिन्दा, राजनीतिक दल, स्थानीय प्रशासन, जिल्ला स्वाथ्य, सुरक्षा निकाय, आम सञ्चार माध्यमका साथै सरकारी एवम् गैरसरकारी संस्था, स्वयम्सेवक सबै क्षेत्रले सहयोग पुर्याउँदै आएका छन् ।

नेपाल प्रहरीले वेत्रवतीदेखि गोसाइँकुण्डसम्म अहोरात्र सुरक्षाको पालो पहरा दिने गरेको छ भने नेपाली सेनाले लेक लागेर जटिल अवस्थामा पुगेका यात्रुलाई बोकेर सुरक्षित स्थानमा पु¥याउने कार्यमा सेवा पु¥याउँदै आएको छ ।

यस वर्षको मेला व्यवस्थाप
गङ्गादशहरा पर्वमा लगभग तीन हजार भक्तजनको आगमन भएको थियो भने भदौ ५ गतेको जनैपूर्णिमा पर्वमा करिब १५ हजार भक्तजनले गोसाइँकुण्डमा मेला भर्ने अनुमान रहेको गोसाइँकुण्ड मेला व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । रसुवाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनुरागकुमार द्वीवेदीले सम्पूर्ण यात्रुको सुरक्षा प्रबन्ध यथेष्ट रूपले मिलाइसकिएको बताउँदै निर्धक्क साथ तीर्थ गर्न सबै भक्तजनमाझ आग्रह गरिएको बताए ।Gosaikunda1

गोसाइँकुण्डको थप रौनकता
हिन्दु तथा बौद्ध धर्मावलम्बीले गोसाइँकुण्ड भगवानलाई उत्तिकै मान्ने चलन छ । स्थानीय झाँक्रीहरूले आफ्ना तानाबुना ढ्याङ्ग्रो तथा झ्याम्टा बजाउँदै उमगङ्का साथ गोसाइँकुण्ड गई कुण्डमा स्नान र पूजाआजा गर्ने गर्छन् । कुण्डमा नेपालका हरेक भूभाग र भारतीय हिन्दु धर्मावलम्बीहरू आउने गर्दछन् । यस वर्ष पर्सा, बारा, कास्की, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडाँै, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरसमेतका जिल्लाबाट भक्तजनको आगमन हुन थालिसकेको छ । रासस