५ असोज, बाजुरा ।
प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिन बाजुराका विभिन्न ठाँउमा राँगा जुधाएर दशैं पर्वको शुरुवात गर्ने प्रचलन रहिआएको छ । सदरमुकाम मार्तडीका स्थानीयवासीले विशेष गरेर सवैको घरघरमा जमरा राख्ने र दिउँसो तिर राँगाहरुलाई जुधाउने प्रचलन रहि आएको छ ।

जिल्लाको सदरमुकाम मार्तडी नजिकैको बाहुली बगरमा राँगाहरुलाई जम्मा गरेर एक आपसमा जुुधाएर दशैं पर्वको सूरुवात संगै रमाईलो गर्नु यहाँका बासिन्दाको पुरानो चलन हो ।

क्षेत्रका स्थानीयहरुले सल्लाह गरेर प्रत्येक वर्ष राँगा जुधाईमा सदरमुकाम मार्तडीका विभिन्न किसानहरुले पालेका राँगाहरुलाई एकै ठाँउमा जम्मा गरेर दशैको परम्परा अनुसार मनाउने प्रचलन गरिएको स्थानीयको बुढापाकाको भनाई रहेको छ ।

यता पुरानो बाउबाजेका पालादेखि नै राँगाहरुलाई एकआपसमा जुधाउने प्रचलन रहिआएको छ र हामीहरु रहुन्जेल सम्म राँगा जुधाईराख्ने स्थानीय नरी रावलले बताए । पहिलेको समयमा धेरै राँगाहरु ल्याउँथे यसपालिका धेरै ठाँउबाट आएनन् । जति आए त्यति राँगाहरुलाई जुधाउने रावलको भनाईरहेको छ ।

जिल्लामा घटस्थापनाको अघिल्लो दिन औंसीदेखि दसैं अवधिभर बाजुराको विभिन्न क्षेत्रमा राँगा जुधाएर रमाइलो गर्ने चलन छ । सदरमुकाम मार्तडीसहित बाह्रबिस, गुदुखाती लगायत क्षेत्रमा समेत घटस्थापनाको दिन राँगा जुधाएर रमाइलो गरिन्छ ।

जिल्लाबासीले दसैंको अवसर पारेर राँगा जुधाउने चलनको आफ्नै महत्व छ । वल्लो पल्लो गाउँका थुप्रै जोडी राँगा आपसमा जुधाएर प्रतिस्पर्धा गराइन्छ । जित्ने राँगा र गाउँवासीको शानै बेग्लै हुन्छ । जित्ने राँगाको मूल्य वृद्धि हुन्छ, भने राँगो पाल्ने मालिक र उनको गाउँको सबैको इज्जत बढेको मानिन्छ । त्यस्तै हार्ने राँगाको मूल्य पनि घट्ने र ईज्जत पनि घट्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।