प्रयास पराजुली
३ चैत, काठमाडौं ।

राजतन्त्र ढालेर देशमा गणतन्त्र स्थापना भएको प्रतिकको रुपमा नारायहिटी दरवार संग्राहलयभित्र गणतन्त्र स्मारक निर्माण भएको छ । आगामी जेठ १५ गते स्मारकको उदघाटन गर्ने गरी काम भइरहेको छ । गणतन्त्र स्थापना गर्न योगदान गर्नेहरूको स्मरणमा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको हो । छ वर्षअघि शुरू भएको स्मारक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएर अहिले फिनिसिङको काम भइरहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, भवन निर्माण शाखाका इन्जिनियर कृष्णबहादुर कार्कीले १२ मिटर अग्लो स्मारकको झन्डै ८५ प्रतिशत काम सम्पन्न भएको बताए । नारायहिटी दरवार संग्रालयको पूर्वपट्टीको ८२ रोपनी क्षेत्रफल जमिन छुटइए पनि हाल ३५ रोपनी क्षेत्रफलमा मात्र स्मारक निर्माण भएको छ ।

स्मारकको दुई तला जमिनमुनि रहेको छ । एक तला जमिनमाथि रहेको स्मारकको उचाइ १२ मिटर रहेको छ । स्मारकमा चारवटा खम्बामा गणतन्त्र ल्याउने, आन्दोलनमा ज्यान गुमाउने, घाइते हुने, अपहरणमा परेका र बेपत्ता भएकाहरूको सम्झनामा एकएक खम्बा बनाइने भएको छ ।

चारवटा खम्बालाई गोलो फलामे रिङले घेरिएको छ । चारवटा खम्बाको बीचमा रहेको खाली ठाउँमा नेपालको नक्सा बनाइने र प्रकाशमार्फत सो नक्सामा उज्यालो पारिनेछ । जसको लागि डिजाइन कार्य भइरहेको छ ।

विभागका अनुसार स्मारकको जमिनमुनिको एउटा तलामा बैठक, सभा हल, विशिष्टलगायतका कक्ष र दोस्रो तलामा फोटो ग्यालरी कक्ष रहनेछ । स्मारक निर्माणसँगै वरिपरि चारैतिर बंगैचा र पार्क निर्माण कार्य भइरहेको छ ।