बोमलाल गिरी

नेपालको अवस्था किन यस्तो भयो ? किन नेपालको विकास हुन सकेन ? हामी किन अहिले पनि यो अवस्थामा छौं ? यसको मुख्य जड के हो ? भनेर हरेक व्यक्तिलाई सोध्नुस, जवाफ एउटै आउँछः राजनीति ।

के हरेक क्षेत्रमा राजनीतिक प्रभाव परेको हो त ? हो । राजनीति सबै नीतिको पनि नीति हो । राजनीतिले नै मुलुकलाई सहि ट्र्याकमा लैजान्छ । त्यसको लागि सहि नेतृत्व हुनुपर्छ ।

के त्यो भए नेपालले सहि राजनीतिक नेतृत्व नपाएकै हो त ? होइन ।

आवश्यकता के हो ? राजनीतिक स्थायित्वको । हो, राजनीतिक स्थायित्व अहिलेको सबैभन्दा जल्दोबल्दो आवश्यकता हो । जवसम्म स्थायी राजनीतिक नेतृत्व हुँदैन, तवसम्म अहिलेकै समस्या हामीले निरन्तर भोग्दै जाने छौं ।

हामीले धेरै समय यस्तै राजनीतिक अन्यौलतामा गुजारी रहेका छौं । नेपालको जगडिएको राजनीतिले झण्डै तीन दशक विताई सकेको छ । पछिल्ला २८ वर्षमा मुलुकले २५ वटा प्रधानमन्त्रीको अनुहार फेरिसकेको छ ।

निक्कै ठूलो उत्साह, उमंग र आश्वासनका साथ २०६४ सालमा संविधान सभाको चुनाव भयो । दुई वर्षमा नयाँ संविधान बनेपछि त मुलुकको मुहार नै फेरिन्छ भन्ने आम अपेक्षा थियो । तर त्यसको ठिक विपरित भयो । देशको अनुहार फेरिएन । यो १० वर्षमा १० जना प्रधानमन्त्रीका अनुहार फेरिए ।

जब एउटा प्रधानमन्त्रीले एक वर्ष पनि राम्रोसँग टिकेर काम गर्न पाउँदैन भने हामी ऊबाट धेरै ठूलो अपेक्षा गर्नु मुर्खता सिवाय केही हुँदैन । व्यवस्था उही छ, पात्र फेरिन्छन्, कतिपय अवस्थामा पात्र दोहोरिन्छन् ।

यतिसम्म कि पात्र दोहोरिदा हामी उसको पुरानो चरित्र विर्सन्छौं र नयाँ तरिकाले मुल्यांकन गछौं । त्यसको लागि सामान्य कुरामा ध्यान दिनु पर्थ्यो । त्यसता केही पात्रको कुरा गरौं ।

यसअघिको प्रचण्ड सरकारमा सहभागि केही मन्त्रीहरुले जनताका लागि राम्रो काम गरे र स्यावासी पनि पाए । केही नाम लिनुपर्दा, जनार्दन शर्मा, गगन थापा, नविन्द्र राज जोशी, कृष्णबहादुर महरा आदी ।

उनीहरुले झण्डै १० महिना सरकारमा रहेर काम गरे । के उनीहरुले जनताका लागि गरेको काम प्रयाप्त थियो ? पक्कै थिएन । उनीहरुलाई यसैगरी अझै लामो समय काम गरेको जनता हेर्न चाहन्थे ।

अरु केही समस्या थियो ? थिएन । सरकारको नेतृत्व गर्ने पात्र फेरीएका थिए, प्रचण्डको ठाउँमा शेरबहादुर देउवा । उनीहरुलाई समर्थन गर्ने दलहरु पुरानै थिए । प्रचण्डको सरकारमा रहेका केही मन्त्री देउवा सरकारमा पनि सहभागि भए र अरु धेरै त सहभागि हुनै बाँकी छ ।

त्यसो भए उर्जा मन्त्री भएर राम्रो काम गरेका जनार्दन शर्मालाई किन त्यही मन्त्रालयमा निरन्तरता दिइएन र गृह तिर लगियो ? कृष्ण बहादुर महरालाई किन अर्थमा निरन्तरता नदिएर परराष्ट्रमा पुर्याइयो ?

किन गगन थापा र नविन्द्रराज जोशीहरुलाई मन्त्रीपरिषद्मा सहभागि गराइएन ? भलै थापा र जोशीको सम्भावना बाँकी नै छ । उनीहरुलाई सरकारमा लगिएला तर कामको मुल्यांकनका आधारमा थापालाई स्वास्थ्य र जोशीलाई उद्योग मन्त्रालयमै कायम गरिदैन । कामको मुल्यांकन गरिन्थ्यो भने शर्मालाई उर्जा र महरालाई अर्थमै कायम राखिन्थ्यो होला ।

यसले देखाउँछ राजनीतिक नेतृत्वमा राम्रो काम गर्नेलाई उच्च मुल्यांकन गर्ने परिपाटी नै छैन । के प्रधानमन्त्री परिवर्तन हुँदैमा अर्थ र गृह एकापसमा साट्नै पर्ने थियो ? के छ ति मन्त्रालयको आकर्षण ?

यदि आकर्षण नै छ भने त्यसमा गम्भीर आशंका पनि छ, चलखेल गर्न पाइन्छ र अम्दानी गर्न पाइन्छ भन्ने । होइन भने सबै मन्त्रालय समान हुन् । विज्ञताका आधारमा मन्त्री चयन गर्ने गरिएको भए त्यो फरक पाटो हुने थियो ।

आर्थिक क्षेत्रमा विज्ञता हासिल गरेको, सम्बन्धित क्षेत्रमा अध्ययन गरेको व्यक्तिलाई कहिले मन्त्री बनाइयो ? के सुरेन्द्र पाण्डे, वर्षमान पुन, कृष्ण बहादुर महरा, विष्णु पौडेल, ज्ञानेन्द्र बहादुर कार्की अर्थ विज्ञ वा अर्थशास्त्रका विद्यार्थी वा ज्ञाता थिए ? थिएनन ।

सुरक्षा विज्ञ कहिले रक्षा र गृहमन्त्री भए । थिएनन् । गृहमन्त्री हुन किन सबै मरिहत्ते गर्छन । उर्जामा राम्रो छवि बनाएका अझ पार्टीबाट ‘स्टार अफ द क्याम्पेनर’ घोषणा भएका जनार्दनको पहिलो रोजाईको मन्त्रालय किन गृह हुन पुग्यो ?

विज्ञान, प्रविधि, वातावरण जस्ता मन्त्रालय किन सबैको ‘लिष्ट इन्ट्रेस्टेड’ मन्त्रालयमा पर्छन ? किन मन्त्रालय भागबण्डाको विषयमा दलहरुबीच रडाको मच्चिन्छ ? सोचनिय विषय छ ।

फेरी कुरा गरौं राजनीतिक स्थायित्वको । स्थायित्वकै लागि ल्याइएको थियो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रस्ताव । तर त्यो धेरैलाई त्रासको विषय भयो, सबैलाई मनको भूतले तर्सायो । र बहुमतले अस्वीकार गरियो ।

पालै पालो सरकारको नेतृत्वमा पुगिएकै छ, पालो अनुसार शिर्षदेखि दोस्रो तहका नेताले समेत प्रधानमन्त्रीको मन्त्री पद पड्काइएकै छन् भन्ने हो भने त ठिकै छ । अन्यथा यो विषय त्यत्तिकै सेलाउन हुँदैन ।

दोस्रो चुनावमा अरु कति दलले जनताको शक्ति पाउने हुन् त्यो हेर्न बाँकी छ । तर स्थानीय तहको पहिलो चरणको नतिजा हेर्दा तीन दल प्रमुखको रुपमा आएका छन् । जव दुई वा त्यो भन्दा बढी दल प्रतिष्प्रधीको रुपमा कामय रहन्छन्, अस्थिर राजनीतिले त्यतिञ्जेल निरन्तरता पाइनै रहनेछ ।