७ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन ।

अध्यक्ष दाहालले भने, “राजनीति जनताको सेवाका लागि गरिने सकारात्मक काम हो । राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन खोजियो । त्यस्तो प्रक्रिया माओवादीलाई स्वीकार्य छैन ।”

अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष दाहालले भने, “खेलको आफ्नै नियम छ, यसको आफ्नै संस्कार र मान्यता छ, यसले खेलाडी र व्यक्तिगत जीवनलाई मात्रै होइन, देशलाई नै स्वस्थ र समृद्ध राख्न मद्दत गर्छ ।”

राजनीति पनि एक प्रकारको खेल नै भएकाले त्यसको आफ्नै नियम, मूल्य मान्यता र संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा राजनीतिलाई विकृत बनाउने प्रयास गरिएकामा आपत्ति प्रकट गरे ।

आफ्नो पार्टीले राजनीति फोहोरी खेल हो भन्ने मान्यतालाई बदल्न चाहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक सहमतिलाई इमान्दारीपूर्वक पालना गरेर आफूले त्यो सन्देश दिन खोजेको स्पष्ट पारे ।

“खेलले नै राष्ट्र र जनताको विकास, समृद्धि र एकता पैदा गर्दछ । राष्ट्रलाई एकताबद्ध गर्न खेल क्षेत्रको निकै ठूलो योगदान छ”– अध्यक्ष दाहालले भने, “मैले दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाएँ । बरु, विधि फेरेर भए पनि खेल क्षेत्रका लागि केही गरौँ भन्ने भावनाले उत्प्रेरित गरिरह्यो ।”

आफ्नो नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा मान्यता प्रदान गरेको स्मरण गर्दै उनले खेलाडीको मनोबल बढाउन मेहनत गरिएको, घोषणा गर्ने तर पुरस्कार नदिने मान्यता तोडिएको भन्दै उनले खेल क्षेत्रमा थप लगानी जरुरी रहेको बताए ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझी, गृहमन्त्री जनार्दन शर्मा, खेलकुद महासंघका अध्यक्ष शिव कोइरालालगायतले खेलकुदमा राज्यको लगानी बढाउनुपर्ने धारणा राखे ।

यस्तै यहाँ आज सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्तालाई अध्यक्ष दाहाल, नेता अग्नि सापकोटा र विश्वभक्त दुलालले पार्टीमा स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले सबैको मेहनतले माओवादी र देशले जित्ने बताउँदै त्यसका लागि जनताका बीचमा जान नेता कार्यकर्तालाई आग्रह गरे ।