७ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले मधेस आन्दोलन संकटमा परेको भनी दुःखेसो गरेका छन् ।

एक अर्को दल र नेताबीच हँुदै आएको कटाक्ष, संकीर्णता, स्वार्थ, खिचातानी, अहमपना र अस्थिरताले आन्दोलनलाई कमजोर तुल्याएको नेताहरुले स्वीकार गरेका हुन् ।

मधेसी राष्ट्रिय मुक्तिमोर्चा र संयुक्त राष्ट्रिय मधेसी आन्दोलन समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले मधेसभित्रको शक्तिबीच एकता नहुने हो र सामूहिक प्रयास नहुने हो भने मधेसका मुद्दा फेरि पनि धरापमा पर्ने चेतावनी दिए ।

सो अवसरमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले मधेस आन्दोलन संकट र कठिनको दोसाँधमा अल्झिरहेको बताए ।

राजपाले उठाएका मुद्दाको सम्बोधन र संविधान संशोधन गरिए चुनावमा जान तयार रहेको जनाउँदै उनले यथास्थितिमा भने चुनावमा जान नसक्ने स्पष्ट गरे । मधेस आन्दोलन हाँक्ने नेताहरु नै विभिन्न पार्टीको एजेण्डमा हिँडेकाले जनता निराश भई नेता र सत्ताप्रति आक्रोश व्यक्त गरिरहेको–उनको भनाइ थियो । सोही पार्टीका नेता हृदयेश त्रिपाठीले मधेस आन्दोलनले मधेस एउटा तागतका रुपमा रहेको पुष्टि गरेको छ भन्दै यथास्थितिमा निर्वाचनमा भाग नलिने बताए ।

नेता बृजेशचन्द्र लालले मधेसको मुद्दा भनेका समानता र अधिकारको विषय हो भन्ने कुरालाई राज्यले बुझ्न जरुरी भएको बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता मातृका यादवले मधेसका नेता आफैँ इमान्दार नभएका, आन्दोलनको घोषणा गर्ने आफू चाहिँ काठमाडौँमा बस्ने प्रवृत्ति देखिएको बताउँदै अहिलेको संविधान संशोधन प्रस्तावले मधेसको मुद्दा सम्बोधन नहुने धारणा राखे ।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मधेसको मुद्दाको मुख्य शर्त भनेको समानता र एकता भएको हुँदा मधेसवादी दलमा देखिएको स्वार्थ र अहमताबाट नेता र सत्ताप्रतिसमेत मधेसी जनता आक्रोश देखिएको धारणा व्यक्त गरे ।

‘मधेस सवाल र हाम्रो दायित्व’ विषयक उक्त अन्तक्र्रियामा राजनीतिक विश्लेषक सिकेलाल, विजयकान्त कर्णलगायतले नेताहरुबाट कहाँ धोका भयो त्यसको समीक्षा हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

राजनीतिमा आउने नेता काठमाडौँमा हराउने तथा राजनीतिलाई सेवाभन्दा व्यवसाय बनाउने प्रवृत्तिबाट मधेसी जनतामा निराशा देखिएको बताउँदै मधेसको समस्या समाधान नभएसम्म नेपाल शान्त रहन नसक्ने पाटोलाई बुझ्न आवश्यक रहेको धारणा व्यक्त गरे । रासस