काठमाडौं, १३ बैशाख । विभिन्न ६ वटा मधेशकेन्द्रित राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आउँदो कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ । केही दिनदेखि जारी पार्टीको पदाधिकारी बैठकले शुक्रबार कात्तिक २८, २९ र ३० गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति गठन गरेको छ । बैठकले लक्ष्मणलाल कर्णको समंयोजकत्वमा नौं सदस्यीय विधान मस्यौदा समिति गठन गरेको बैठकपछि संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले भ्रातृ संगठनहरुलाई तत्काल समायोजन गरी पूर्णता दिने र व्यवस्थापन गर्ने निर्णय गरेको राजपाले जनाएको छ । बैठकले पार्टीले उठाएको संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशमलाल चौधरी लगायतका राजबन्दीलाई रिहा गर्न दबाब दिने गरी सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेको छ ।