२० साउन, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठक आज सकिने भएको छ । दुई दिनदेखि जारी बैठकमा आज पनि पदाधिकारीले पार्टी संयोजक महन्थ ठाकुरको राजनीतिक प्रस्तावमा केन्द्रित भएर धारणा राख्नेछन् ।

पहिलो दिन १२ र हिजो ३१ गरी अहिलेसम्म ४३ जनाले आफ्नो धारणा राखिसकेका छन् । बोल्नका लागि एक सयको हाराहारीमा प्रतिनिधिले नाम टिपाएका छन् । बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यले संविधान संसोधन प्रस्ताव निर्णयार्थ संसदमा पेश गर्ने र नतिजा स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

ठाकुरले प्रतिवेदनमा सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन नभई चुनावमा नजाने प्रस्ताव गरेको भन्दै पदाधिकारीले आपत्ति जनाएका छन् । संसोधन नभए ठाकुरको प्रतिवेदन पदाधिकारी बैठकबाट पास हुन गाह्रो रहेको एक नेताले जानकारी दिए ।

राजपाले तेस्रो चरणको स्थानीय चुनावको सहभागिताका विषयमै छलफल गर्न पर्सिदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ । आजको पदाधिकारी बैठक विहान ११ बजेदेखि पार्टी कार्यालय बबरमहलमा सुरु हुनेछ ।