२ असार, काठमाडौं । सरकारले चुनाव सार्ने निर्णय गरेपछि राष्ट्रिय जनता पार्टीले आज आधिकारिक धारणा तय गर्ने भएको छ ।

अहिले केहीबेरमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बस्ने अध्यक्ष मण्डलको बैठकले सरकारको निर्णयबारे आधिकारिक धारणा तय गर्नेछ ।

मोर्चाभित्र आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिनुपर्ने पक्षमा आवाज बलियो भएको छ । त्यसैले आजको बैठकले आन्दोलनलाई नै निरन्तरता दिने एक नेताले बताए ।

उनका अनुसार २ नम्बर सँगै ५ नम्बर प्रदेशको पनि चुनाव सारिदिएको भए राजपा चुनावमा जान बाटो खुल्ने थियो । तर २ नम्बर प्रदेशको मात्रै चुनाव सारेकाले आन्दोलनको विकल्प नभएको उनको भनाई छ ।

आन्दोलन तताउन जिल्ला झरेका अध्यक्ष मण्डलका सदस्यहरु काठमाडौं आएसँगै बैठक बस्ने तयारी गरिएको हो । बैठकले अब बाँकी प्रदेशमा पनि आन्दोलन चर्काउने निर्णय गर्ने ति नेताको भनाई छ ।