२४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ३ बुँदे सहमति गरेर प्रधानमन्त्रीमा मतदान गरेको राष्ट्रिय जनता पार्टीले अहिलेकै अवस्थामा स्थानी तह निर्वाचनको दोस्रो चरणमा पनि भाग नलिने बताएको छ ।

नेपाली हेडलाइन्ससँग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले संविधान संसोधन लगायत आफूहरुका माग सम्बोधन नभएसम्म चुनाव संभव नहुने बताए । उनले भने, ‘हामी विना चुनाव सम्भव छैन । जर्वजस्ती गरे एक्सनको रियाक्सन हुन्छ । हामीमाथि जस्तो व्यवहार गर्छ, जवाफ त्यस्तै पाउँछ ।’

राजपा विनाको चुनावको अर्थ नरहेको उनले बताए । ‘हामी विनाको चुनावको अर्थ छैन । यस्तो चुनावले परिणाम पनि निकाल्दैन भन्ने कुरा सरकार र राज्यले राम्रैसँग बुझेका छन् । यथास्थितीमा चुनाव भयो भने त्यो चुनावले मुलुकलाई ठूलो दुर्घटनामा लैजान्छ ।’

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेपनि आफूहरु सरकारमा जाने कुरा सम्भव नभएको नेता यादवको भनाई थियो । ‘यथास्थितीमा राजपा सरकारमा जान सक्दैन । यो एकमतले गरेको निर्णय हो ।’

एमालेले मुलुकको हितमा सोच्न नसकेका कारण अहिलेको समस्या उत्पन्न भएको यादवले आरोप लगाए । नेकपा एमाले हाम्रो मुद्धा उठाउँने वित्तिकै विरोधमा उत्रने गरेको छ, ‘यादवले भने, एमाले शुरुदेखि नै अनुदार र कटुताको व्यवहार देखाउँदै आएको छ, एमाले जिम्मेवार बनि सकारात्मक व्यवहार देखाए, आफूहरुको एमालेसँग दुष्मनी नरहेको र अरु दलसँगको जस्तै समान व्यवहार हुन्छ ।’

हेर्नुस् उनकाे भिडियो: