२१ साउन, काठमाडौं । नेताहरुले बोल्ने क्रम नसकिएपछि राष्ट्रिय जनता पार्टीको पदाधिकारी बैठक लम्बिएको छ ।

बुधबारदेखि सुरु भएको बैठक हिजै सकिने भनिएपनि नेताहरुले बोल्ने क्रम नसकिएपछि लम्बिएको हो । आजको बैठकमा बोल्न बाँकी रहेका १० जना पदाधिकारीले आफ्नो धारणा राखिरहेका छन् । त्यसपछि अध्यक्ष मण्डलका सदस्यहरुले बोल्नेछन् ।

सबैले बोलिसकेपछि संयोजक महन्थ ठाकुरले आफ्नो प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको महासचिव केशव झाले जानकारी दिए ।

बैठकमा अहिलेसम्म ७९ जनाले आफ्नो धारणा राखिसकेका छन् । ७९ जना मध्ये ३७ जनाले चुनावमा भाग लिनुपर्ने पक्षमा बोलेका छन् भने २७ जनाले सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन नभइ चुनावमा जान नहुने पक्षमा धारणा राखेका छन् । मत विभाजन तिब्र भएपछि के गर्ने भन्ने निर्णय गर्न कठिन भएको छ ।

एक नेताका अनुसार संसोधन भएन भने संयोजक ठाकुरको प्रतिवेदन पास हुन मुश्किल छ । भोली देखि केन्द्रीय समितिको बैठक बोलाइएकाले पनि बैठक आजै सक्नुपर्ने बाध्यता छ । १५ जनाले भने बीचमा रहेर बोलेको ति नेताले बताए ।