२५ कात्तिक,  काठमाडौँ। चालु आर्थिक वर्षको असोज महिनामा रु २७ अर्ब ७ करोड राजस्व सङ्कलन भएको छ । रु २४ अर्ब ४ करोड उठाउने लक्ष्य रहेकामा यो उठ्ती लक्ष्यभन्दा ११२.६२ प्रतिशतले बढी हो । अर्थमन्त्रीको उपस्थितिमा आज अर्थ मन्त्रालयमा भएको समीक्षा बैठकमा राजस्व सङ्कलन महाशाखाले कुल राजस्व सङ्कलनमध्ये कर राजस्ववापत रु २१ अर्ब ९२ लाख गैर करतर्पm ६ अर्ब ६० करोड ९२ लाख सङ्कलन भएको जनाएको हो ।

    पोहोर असोजमा रु २० अर्ब ५० करोड राजस्व सङ्कलन भएकोमा यो वर्ष त्यसै महिनामा रु २७ अर्ब ७ करोड सङ्कलन भई अघिल्लो वर्षको तुलनामा १३२ प्रतिशत वृद्धि भएको छ । गैरकरतर्फ गत असोजमा रु दुई अर्ब ८६ करोड ४९ लाख सङ्कलन भएकोमा यस वर्ष सोही अवधिमा रु ६ अर्ब ६० करोड ९२ लाख सङ्कलन भई वृद्धिदर १३०.६९ प्रतिशत रहेको छ ।  भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आयकर, रजिष्ट्रेसन दस्तुर र सवारी साधन करलगायत शीर्षकमा उक्त रकम सङ्कलन भएको हो ।

बैठकमा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले कर छुटको प्रभावकारिता र गैरकर राजस्व सम्बन्धमा अध्ययन गर्न गठन गरिएका कार्यदलका काम कारबाहीमा विभागहरूलाई निर्देशन दिँदै कमजोर कार्यसम्पादन भएका कार्यालयको अनुसन्धानात्मक अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेर सम्बन्धित विभागलाई बुझाएका बाँकी काम शीघ्र निष्कर्षमा पुर्याउन निर्देशन दिनुभयो ।

    अर्थ सचिव शान्तराज सुवेदीले गैरकर र रजिष्ट्रेसन दस्तुर सङ्कलनको तुलनामा भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको सङ्कलन राम्रो हुन नसकेकोमा विभागको ध्यानाकर्षण गराउँदै आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकरको व्यवस्थापनका विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । रासस