प्रयास पराजुली
१९ जेठ, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवा नेतृत्वको सरकारमा सहभागी हुन दौडधुप बढाएको छ । तर प्रधानमन्त्री बन्न लागेका देउवाले राप्रपालाई सरकारमा सहभागी नगराउने भएका छन् । देउवा निटक एक नेताले नेपाली हेडलाइन्सँग भने,‘संविधान संशोधन गर्ने बेलामा डराउने र महाअभियोग प्रस्तावलाई बहाना बनाएर सरकारबाट बाहिरिएकाले अब सरकारमा ल्याउनुको अर्थ छैन् ।’
राप्रपा विना नै सरकार गठन गर्नको लागि पर्याप्त बहुमत भएपछि धेरै पार्टी सहभागी नगराउने मुडमा देउवा छन् । राप्रपाका अध्यक्ष कमल थापाले सरकारमा आउने वातावरण सृजना गर्नको लागि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक भेटेरै विन्ती गरेका छन् । स्थानीय तहको निर्वाचनमा जित्ने योजनाको साथ सरकारबाट बाहिरिएको राप्रपाले निर्वाचनमा एउटा मात्र स्थानीय तहमा जित्न सफल भयो ।
चुनावमा एमालेसँग गरेको तालमेलले पनि परिणाम आउन सकेन । सरकारबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले निर्वाचनमा पराजय भएपछि सरकारमा जाने रणनीति बनाएको छ । राप्रपाभित्र सरकारमा जानुपर्ने दबाब बढेको छ । प्रतिपक्ष दलमा बसेर अब जनताको काम गर्न नसकिने भएकाले पनि जसरी पनि सरकारमा जानुपर्ने दबाब बढेको एक नेताले बताए । ती नेताले भने, जनमत हाम्रो पक्षमा राम्रो देखिएन, अब सरकारमा सहभागी भए केही काम गर्न सकिन्छ ।’ अहिले सरकारमा नजाने हो भने अबको दस महिना सरकारबाट बञ्चित हुने हिसाबकिताब राप्रपाको छ ।
राप्रपाभित्र दिलनाथ गिरी, दिपक बोहोरा,बिक्रम पाण्डे लगायतका नेताहरुले सरकारमा जानुपर्ने दबाब दिएका छन् । सोही अनुसार कमल थापाले सरकारमा सहभागी हुनको लागि दौडधुप बढाएका छन् । सरकारको नेतृत्व गर्न लागेको देउवाले अहिलेसम्म सरकार गठनको लागि सहयोग गर्न पत्राचार गरेका छैनन् । साना दलहरुलाई पत्रचार गरेपनि देउवाले राप्रपालाई सरकारमा सहभागी नगराउनको लागि नै पत्राचार नगरेको देउवाको सचिवालयले बताएको छ ।
राप्रपाकी प्रमुख सचेतक कुन्तीकुमार शाहीले सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै पनि औपचारिक निर्णय नभएको बताइन । उनले नेपाली हेडलाइन्सँग भनिन,‘बहुमतिय प्रक्रिया सुरु भएको छ, पार्टीलाई आधिकारीक रुपमा सहभागी हुनको लागि कतैबाट पनि प्रस्ताव आएको छ, यदी प्रस्ताव आए पार्टीले औपचारिक निर्णय गरेर अगाडि बढ्छ ।’
सरकारबाट बाहिरिएपछि राप्रपा न घर न घाटको भएको छ । सरकारबाट बाहिरिएपछि निर्वाचनमा पराजय भोगेको छ । एमालेले पनि राप्रपालाई विश्वास गर्न सकेको छैन् भने अहिलेका सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि विश्वास गर्न सकेका छैनन् । सरकारमा सहभागी हुनको लागि राप्रपाले संविधान संशोधन विधेयक पारित गर्ने पक्षमा मतदान गर्ने बताउदै आएको छ ।

तर यसअघि मतदानको प्रक्रियामा विधेयक लैजाने बेलामा राप्रपाका दस जना सांसद गायक भएपछि विधेयक अलपत्र परेको थियो । कांग्रेस सभापति देउवा सुरुदेखि नै राप्रपालाई सरकारमा सहभागी गराउने पक्षमा थिएनन । कठिन अवस्थामा राप्रपाले सरकारको साथ छोडेको भन्दै देउवाले राप्रपालाई ‘धोकेवाज’को संज्ञा दिएका छन् । अपठ्यारो अवस्थामा राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक फोरम नेपालकालाई सरकारमा सहभागी गराएका थिए ।
कुनै बेला सरकार गठनको निर्णायक शक्ति बनेको राप्रपा राजनीतिक रुपमा विस्तारै महत्व कम हुने स्थानमा पुगेको छ । पहिलो संविधानसभा निर्वाचनपछि निरन्तर सरकारमा सहभागी हुँदै आएको राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा अन्तिम अवस्थामा मात्र सहभागी भएको थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बसेर काम गरेका थापाले सरकार विघटनपछि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाएका थिए ।
सुरुमै उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुने भनेपनि ओलीसँगको हिमचिमको कारण प्रचण्डले विश्वास गर्न सकेका थिएनन । लामो मेहनतपछि सरकारमा सहभागी भएपनि थापा धेरै दिन टिक्कन सकेनन । महाअभियोग प्रस्तावप्रति आपत्ति जनाउदै सरकारबाट बाहिरिएपछि थापा प्रचण्ड र देउवा दुवैको अविश्वासको पात्र बनेका छन् । थापाले मरिहत्य गरेपनि तत्काल सरकारमा लैजाने सम्भावना नरहेको माओवादीको एक नेता बताउछन् । कमल थापालाई प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिनु न्याउरी मारी पछुतोजस्तै भएको छ । सत्ता विना बस्न नसक्ने राप्रपा अब लामो समय सरकारबाट बाहिर बस्नु पर्ने अवस्था आएको भन्दै पार्टीभित्र कमल थापाको चर्को आलोचना सुरु भएको छ ।