६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनमा राप्रपाले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्ने बताएका छन् ।

फाइल तस्बिर

उनले राष्ट्रियतको सबालमा अहिलेकै नीति अनुसार अगाडि बढे एमाले बाहेक अन्य पार्टीलाई धक्का दिने बताएका हुन् । उनले कार्यक्रममा पटक पटक भने, ‘मैले अरु पार्टीलाई होच्याउन खोजेको होइन, यहि हिसाबले स्पष्ट अडानका साथ राप्रपा अघि बढे राप्रपाले एमाले बाहेक अरुलाई धक्का दिन सक्छ ।’

राजधानीमा आजबाट सुरु भएको एकताको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष ओलीले भने, ‘संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित हुँदैन, यो देश र जनताको हितमा छैन, एमाले र राप्रपा यसको विपक्षमा छ ।’

देश अहिले संक्रमणकालिन अवस्थामा रहँदा राष्ट्रिय एकता देशको समृद्धि गर्ने बेलामा विभिन्न हल्ला चल्न थालेको बतउदै उनले आफ्नो नेतृत्वको सरकारमा राप्रपा सहभागी भएर गरेको काम स्वर्णिम युग भएको बताए ।

संविधान जारी गर्नुपूर्व दलहरुबीच सहमति भएपनि कसलै हावा हालिदिँदा सहमति भंग भएकोप्रति कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने,‘दोबाटोमा उभिएर यता जाउँ कि उता जाउ गर्ने यस्तो पनि पार्टी हुन्छ ?’

राप्रपा राष्ट्रियता लोकतन्त्र शान्ति राष्ट्रिय एकता र विकासको काममा ठूलो भूमिका खेलेको बताउदै महाधिवेशनबाट राप्रपाले झन स्पष्ट रुपमा अगाडि बढने विश्वास व्यक्त गरे ।