२९ माघ, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र मधेशी मोर्चाको माग सम्बोधन गर्न नसक्ने हो भने वर्तमान सरकारको औचित्य समाप्त हुने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले भने,‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले संविधान संशोधन, कार्यान्वयन र निर्वाचनको मिति घोषणा गर्न सकेन, त्यसैले सरकारको औचित्य समाप्त भयो, जेठभित्रै चुनाव गर्न सकेन भने यो एउटा सरकारको के काम?, चुनाव गराउनपनि नसक्ने अनि सत्तामा बसिरहने?’

थापाले फागुन दोस्रो हप्ताभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरे। उनले भने,‘तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ, फागुणको दोस्रो हप्ताभित्र निर्वाचनको मिति घोषणा भयो भने जेठमा निर्वाचन हुन्छ, त्यसलाई राप्रपाले सबैभन्दा पहिले खुलेरै समर्थन गर्छ, चुनाव सफल बनाउनको लागि हाम्रो पार्टीले सकारात्मक र रचनात्मक सहयोग गर्छ।’

थापाले काँग्रेस–माओवादी केन्द्रको अर्कमण्यता र अनिर्णयको कारण मुलुक चुनावको वातावरणमा जान नसकेको गुनासो पोखे। उनले भने,‘मधेशवादी दलहरुसँगको मुद्दालाई समाधान गर्नको लागि हामी सरकारमा हुँदा पनि निरन्तर प्रयास गरेकै हौं, तर यही बहानामा चुनावलाई रोक्न मिल्दैन्।’

थापाले आफूहरु तत्काल चुनावको र संविधान संशोधन प्रस्तावलाई पनि सँगसँगै लैजानुपर्नेमा स्पष्ट पार्दै भने,‘अब एमालेले संशोधन प्रस्तावमाथि छलफल नै गर्न दिन्न भन्नु गलत हो, र मधेशवादी दलहरुलेपनि संशोधन नभईकन चुनाव हुन दिन्नौं भन्नु गलत हो, यी दुवै अतिवादी सोच हो, प्रस्तावलाई छलफलको प्रक्रियामा लैजानुपर्छ र चुनावको मिति घोषणा गर्न मधेशवादी दल बाधक बन्नुहुँदैन्।’

थापाले भने,‘ठूला दलहरुले देशलाई निकास दिन सकेनन्, त्यसैले राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित भैसकेको छ, हाम्रो पार्टी नै देशको राजनीतिक मियो हो र, यसले नै संकटको समाधान गर्न सक्छ।’

उनले संविधान कार्यान्वयन सफल बनाउन तीन वटै तहको निर्वाचन ०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्नुपर्ने भएकोले त्यतातिर सबैले ध्यान दिनुपर्ने बताए। उनले भने,‘मंसिर मसान्तभित्रै सबै तहको चुनाव सम्पन्न गर्नुपर्छ, अहिलेसम्म त्यसको तयारी केही भएको छैन्, कमसे कम जेठभित्रै स्थानीय तहको चुनाव गर्नुपर्छ।’

उनले विना कारण र आधार संसद स्थगित् गर्नु र स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन रिभ्यु गर्ने, सरकारकै मन्त्रीहरुले नै संविधान संशोधन नभएसम्म चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिनुले चुनाव हुने कि नहुने भन्नेमा गम्भिर आशंका पैदा भएको स्पष्ट पारे। उनले भने,‘स्थानीय तह पूर्नसंरचना आयोग संवैधानिक हो, यसले संविधान अनुसार नै काम गरेको छ, आयोगको प्रतिवेदनलाई तलमाथि गर्ने अधिकार सरकारलाई छैन्।’

उनले संशोधन विद्येयक तयार पार्दा काँग्रेस र माओवादी केन्द्रले अरु दलहरुसँग कुनै छलफल नै गर्न आवश्यक नठान्नु दुःखद् भएको गुनासो पोख्दै भने,‘त्यतिखेर उहाँहरुले हामीसँग यसबारेमा कुनै छलफल नगर्ने, अहिले आएर प्रस्ताव पारित गर्न सहयोग चाहियो भन्नु कत्ति जायज छ ? यथास्थितिमा राप्रपाले संशोधन प्रस्ताव पारित गर्न सहयोग गर्दैन्।’

राप्रपाले सरकारको समर्थन फिर्ता लिने कुरा बाहिर आएको छ नि भन्ने पत्रकारको प्रश्नमा थापाले भने,‘हाम्रो पार्टीको एकताको महाधिवेशन आउँन जम्मा ५ दिन बाँकी छ, महाधिवेशनपछि नै हामी के गर्ने भन्नेबारेमा ठोस निर्णय लिन्छौं, त्यसपछि बस्ने केन्द्रिय समितिको बैठले नै सरकारमा पार्टी बस्ने या नबस्ने भन्नेबारे आधिकारिक निर्णय गर्छौं।’
उनले आफ्नो पार्टीले संविधानलाई आलोचनात्मक समर्थन गरेकोले यो संविधान सफलता र असफलतासँग आफूहरुको पनि भविष्य जोडिएको बताएँदै भने,‘मुलुकमा संवैधानिक तथा राजनैतिक भ्याकुम आउन नदिनको लागि समयमै निर्वाचन सम्पन्न गर्नतिर सबैले ध्यान दिनुपर्छ, हामी दबाब दिन्छौं, चुनावले संकटको समाधान गर्छ, चुनाव गर्न सकेनन् भने तीन दलका नेताहरुले त्यसको जिम्मेवारी लिनुपर्छ।’

संसदको पदावधि एक वर्ष थप्ने कुरा पनि बाहिर गाईँगुँई सुनिएको उल्लेख गर्दै थापाले भने,‘संसदको म्याद थप्ने कुरा असम्भव छ, राजनैतिक र संवैधानिक रुपमै यो गर्न मिल्दैन्, अहिले हामीले यस्तो परिकल्पना नगरौं, पहिलो संविधानसभा विघट्न हुँदाखेरि अदालतले नै यसबारेमा निर्णय गरिसकेको छ, त्यसैले अब यस्तो कल्पना गर्न सकिँदैन्।’ उनले अघि थपे,‘अदालतले जनताको प्रतिनिधिहरुलाई संसदको म्याद थप्ने अधिकार छैन भनिसकेको छ, त्यसैले ताजा जनादेश नलिईकन सुखै छैन्।’

उनले पार्टीको यही फागुण ६ गतेदेखि सुरु हुने एकताको महाधिवेशनमाले हिन्दूराष्ट्र र राजसंस्थाबारे टुँगो लगाउने स्पष्ट पारे। उनले भने,‘हिन्दूराष्ट्र बनाउनेबारे कुनै विवाद छैन्, वैदिक सनातन हिन्दूराष्ट्रको एजेण्डा अब सशक्त रुपमा अगाडि बढाउँछौं।’ थापाले संसदको यही कार्यकालभित्रै हिन्दूराष्ट्र स्थापित गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै उनले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन, र राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि पनि एउटा अन्तिम संरक्षक(लास्ट कस्टडीयन) को रुपमा राजसंस्था महाधिवेशनबाट अनुमोदन हुने विश्वास समेत व्यक्त गरे। उनले भने,‘यो देशको राष्ट्रिय अखण्डता, देशलाई एक बनाउनको लागि राजसंस्था बनाउन आवश्यक छ, त्यसको लागि राप्रपाले महाधिवेशनले एउटा निर्णय लिन्छ, संवैधानिक राजसंस्थाको पक्षमा हाम्रो पार्टी छ।’

एकता महाधिवेशनपछि पार्टी अध्यक्ष को हुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष थापाले पार्टी एकता हुँदाखेरि नै आफू दुई महिनाको लागि मात्रै अध्यक्ष नभएको जिकिर गर्दै उनले भने,‘महाधिवेशनपछि पनि अध्यक्ष बन्नेगरि म अध्यक्ष बनेको हुँ।’

उनले पार्टीभित्र नेतृत्वको प्रतिपष्पर्धा हुनु स्वभाविक भएको टिप्पणी गरे। उनले भने,‘हामी पार्टीको नेतृत्व सर्वसम्मतीले चयन गर्छौं, यदि भएन भने स्वस्थ प्रतिष्पर्धा हुन्छ तर त्यसले हाम्रो एकता अक्षुण रहन्छ, पार्टी अब कसैलेपनि टुटाउन र फुटाउन सक्दैन्।’
उनले आफूले अहिलेसम्म उम्मेद्धवारी घोषणा गरेर पार्टीको अध्यक्ष नभएको स्मरण गर्दै भने,‘म अहिलेसम्म उम्मेद्धवारी घोषणा गरेर अध्यक्ष बनेको छैन, त्यसैले यसपटक पनि म उम्मेद्धवारी घोषणा गर्दिन्, तर अध्यक्षको लागि दरखास्त दिन्छु।’

त्यस्तै उनले नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्नेबारे देखिएको विवादबारे टिप्पणी गर्दै भने,‘न्यायालय, संवैधानिक आयोगका प्रमुख, सूरक्षा निकायको प्रमुखमा भागबण्डा गर्ने हो भने त्यसले उत्पन्न गर्ने परिस्थिति दुःखद् हुन्छ, भागबण्डाको पक्षमा हाम्रो पार्टी छैन, भागबण्डा अब सदाका लागि अन्त्य हुनुपर्छ।’