७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको गरिमा र संवैधानिक हैसियतबारे आफ्नो पार्टी पूर्ण रुपमा सचेत रहेको जनाएको छ ।

आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति आफ्नो दल ध्यानाकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनीतिक दलका रुपमा पार्टीले सञ्चालन गरेको र गर्ने कार्य संविधान र प्रचलित कानुनअनुरुप रहने स्पष्ट गरेको छ ।

पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्थानीय तहको निर्वाचन मुख्य एजेन्डा भएको र निर्वाचन सुनिश्चितता प्राथमिकता भएको हुँदा निर्वाचन आयोगले पार्टीको मागबमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेतलाई दृष्टिगत गर्दै पार्टीले सञ्चालन गर्ने सङ्घर्षको कार्यक्रम अहिलेलाई स्थगन गरिएको छ । ”

यद्यपि पार्टी विधान संशोधन गर्ने आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने र आगामी चुनावमा समेत सो विषयलाई उठाइने राप्रपाले जनाएको छ । पार्टी विधानको प्रस्तावना र उद्देश्यमा रहेको ‘सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वातन्त्रतासहितको सनातन हिन्दू राष्ट्र’ एवम् ‘राजसंस्थासहितको लोकतन्त्र’ रहेको वाक्यांश हटाउने आयोगको निर्णयप्रति असहमति जनाउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार
पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ९ बजे धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

बैठकले आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र खारेजी गर्न गरेको निर्णयको स्थगन, घोषणापत्रको तयारी तथा सरकारमा पार्टीका सहभागिताबारेमा छलफल हुने नेता राजाराम श्रेष्ठले जानकारी दिए । स्थानीय तहको चुनावमा पार्टीले देशव्यापी रुपमा गरिरहेका कार्यप्रगतिको समीक्षासमेत गरिने छ । रासस