४ फागुन, काठमाडौं ।
राप्रपा अध्यक्षमा अहिलेसम्म थापाको मात्र उम्मेदवारी टुंगो लागेको छ । यसअघि एकै समूहमा रहेका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा दुवैजना आकांक्षी देखिए पनि उम्मेदवारीको घोषणा गरिसकेका छैनन् ।

लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, सुनीलबहादुर थापा, विक्रम पाण्डे, धु्रुवबहादुर प्रधान, दीपक बोहरा, बुद्धिमान तामाङजस्ता दोस्रो तहका नेताहरू महाधिवेशनमा निर्णायक हुने देखिएका छन् ।

महाधिवेशनमा पेस गरिने राजनीतिक कार्यपत्रमा संसद्द्वारा नियन्त्रित राजतन्त्रमा जाने निर्णय लिएकाले महाधिवेशनमा थापाकै पल्ला भारी हुने अनुमान गरिएको छ ।

राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनीलबहादुर थापाले नेतृत्व चयन सर्वसम्मत नभए अध्यक्षमा कमल थापालाई समर्थन गर्ने भएका छन् । उनी पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

‘दुई पार्टी एकीकरणको पृष्ठभूमिमा सहमतिबाटै पार्टी अध्यक्ष चयन गर्नसके आमकार्यकर्ताको मनोबल उच्च रहन्छ, तर सहमति हुन नसकेको खण्डमा अध्यक्षमा कमल थापालाई समर्थन गर्नु यथार्थ र वस्तुपरक रहन्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभएको छ,’ राप्रपा महाधिवेशन प्रतिनिधि तथा उनका छोरा सिद्धार्थ थापाले भने ।

उनले त्यस्तो अवस्थामा आफूहरूसँग रहेका सबै महाधिवेशन प्रतिनिधिको सहयोग कमल थापालाई रहने जानकारी दिए । थापासँगै २२ जना केन्द्रीय सदस्यले थापालाई अध्यक्षमा समर्थन गर्ने भन्दै हस्ताक्षर नै बुझाएको पार्टीका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।