१० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ । मतदानको प्रक्रिया सकिएलगत्तै गणना गरी परिणाम सार्वजनिक गरिनेछ । विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा प्राप्त हुने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सोमबार मतदान गर्दै अध्यक्ष पदका प्रत्यासी कमल थापा ।

पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले पहिलोपटक मतदान गरी सो प्रक्रियाको शुभारम्भ गरेका थिए ।

पार्टीको विधान अनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुल्ला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एकजना निर्वाचित हुने छन् ।

पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुश्लिम दुई, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एक, प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।