७ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी यही कात्तिक ९ गते काठमाडौँमा उपत्यकास्तरीय प्रशिक्षण दिने भएको छ ।

काठमाडौँ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्तालाई दिइने प्रशिक्षणमा संगठन सुदृढीकरणसम्बन्धी ज्ञान सिकाइने छ ।

पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुका कारणसमेत सहभागीलाई पार्टीका अग्रज नेताबाट जानकारी गराइनेछ । लोकतान्त्रिक गठबन्धनबाट चुनावमा उम्मेदवार बनाइने व्यक्तिलाई विजयी गराउनका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिका समेत प्रशिक्षणमा बताइनेछ ।

कार्यक्रममा पार्टीले लिएका हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, समावेशी लोकतन्त्र, आर्थिक उदारवादलगायत आदर्शकाबारे सहभागीलाई विस्तृत जानकारी गराइने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणमा दीक्षित हुने करिब एकसय नेता तथा कार्यकर्ताले आवश्यकताअनुसार मुलुकका अन्य भागमा समेत संगठन विस्तारमा कार्य गर्नेछन् । पार्टीले जनताको सेवालाई केन्द्रमा राखेर चुनावी प्रचारप्रसारमा लाग्न रणनीतिसमेत तय गर्नेछ ।

प्रतिनिधिसभाको दोस्रोचरणका लागि उम्मेदवारको टुंगो पार्टीले चाँडै लगाउने पनि जनाएको छ ।