१८ चैत, काठमाडौं । तीन दशक अघि नेपाली सांगीतिक क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका गायक रामकृष्ण ढकालले यो अवधिमा विशिष्ट सफलता हात पारिसकेका छन् । स्वरसम्राट नारायण गोपालका गित गाएरै गायनमा प्रवेश गरेका ढकाल ५०को दशक यताका सबैभन्दा सफल गायक हुन् । आधुनिक सुगम गायनमा उनको उपस्थिती सधै अब्बल रह्यो । सयौं हिट गीत दिइसकेका ढकाल सदाबहार गायक हुन् । उनै गायक ढकाल केही समयको अन्तराल पछि आज एकल साँझ मार्फत फेरि गुञ्जिदैछन् ।

विन्ध्यावासिनी फाउण्डेसनको सहयोगार्थ विन्ध्यवासिनी म्युजिकको आयोजनामा आज हुन लागेको रामकृष्ण ढकाल एकल साँझ २०७३मा उनले कम्तिमा २० सदाबहार हिट गित गाउनेछन् । सामाजिक सेवाका लागि काठमाडौंमा हुन लागेको एकल साँझप्रति निकै उत्साहित रहेको र शो निकै सफल हुनेमा विश्वस्त रहेको गायक ढकालले बताए ।

एकल साँझमा गायक ढकाललाई गायिकात्रय देविका वन्दना, जुना प्रसाँइ र प्रविशा अधिकारीले साथ दिनेछन् । कार्यक्रमको सञ्चालनको जिम्मेवारी दिनेश डीसी र नरेश भट्टराईलाइ दिइएको छ । कार्यक्रम दिउँसो ठिक ४ बजे प्रज्ञा भवन कमलादीमा शुरु हुनेछ । कार्यक्रमको सम्पुर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

के कस्तो हुँदैछ त कार्यक्रम

आयोजक विन्ध्यवासिनी म्यूजिकका प्रवन्धक निर्देश सुवास रेग्मीका अनुसार एकल साँझलाई भव्य बनाउनका लागि पछिल्लो प्रविधिको उच्चतम प्रयोग गरिएको छ । सजावट, साउण्ड, लाइट लगायतका व्यवस्थापनका पक्षमा कुनै कसर बाँकी नराखिएको रेग्मीको भनाई छ ।

हलको क्षमताअनुसार छुट्टाइएका सबै टिकट बिक्रि भैसकेकोले उपस्थिती खचाखच हुने अनुमान रेग्मीको छ । त्यस्तै कार्यक्रममा गायक ढकालले प्रस्तुत गर्ने गीतका सर्जक(गीतकार,संगीतकार)का लागि संगीत रोयल्टी संकलन समाज मार्फत रोयल्टी दिइने पनि उनले बताए ।

संकलित रकम के का लागि

फाउण्डेसनको सहयोगार्थ एकलसाँझ गरिएकाले आर्थिक संकलनलाई पनि प्राथमिकतामा राखिएको छ । यो कार्यक्रमबाट कम्तिमा १५ लाख रकम संकलन गर्ने लक्ष्य राखिएको फाउण्डेशनका सचिव परमानन्द खनालले बताए ।

टिकट बिक्रि, फाउण्डेशनका आजीवन तथा क्रियाशिल सदस्यले जुटाएको रकम र शुभेच्छुकहरुले दिएको योगदानका आधारमा त्यति रकम संकलन हुने विश्वास छ खनालको । संकलित रकमलाई फाउण्डेशनले स्याङजामा निर्माण गर्न लागेको संगीतआश्रमका लागि जग्गा खरिदमा खर्च गर्ने उनले बताए । आश्रम निर्माणका लागि ३५ रोपनी जग्गा लिइसकिएको छ ।