१६ मंसिर, काठमाडौं ।
राष्ट्रपतिमाथि आक्रमण गरे जन्मकैद हुने व्यवस्थासहितको मुलुकी ऐन आगामी भदौबाट कार्यान्वयनमा आउने भएको छ । १ सय ४६ वर्षपछि पूर्णरूपमा प्रतिस्थापन भएको मुलुकी ऐनमा राज्यविरुद्ध कसुर गर्नेलाई पाँच वर्षदेखि जन्मकैदसम्मको सजाय निर्धारण गरिएको छ । ज्यान लिने उद्देश्यले राष्ट्रपतिमाथि आक्रमण गर्ने र गर्न लगाउने कुनै पनि व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था ऐनमा छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको दफा ५४ को उपदफा ३ मा कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गरे वा गर्न लगाए जन्मकैद हुने व्यवस्था गरिएको छ । सोही उपदफामा राष्ट्रपतिको अपहरण गर्ने, शरीर बन्धक लिनेलाई भने १५ वर्षसम्म कैद र एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने सजाय निर्धारण गरिएको छ । ऐनको दफा ५५ मा राष्ट्रपति वा सांसदलाई धम्की दिने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । आजको नयाँ पत्रिकामा खबर छ ।

राज्यविरुद्धको कसुरमा यस्तो छ सजायको व्यवस्था

– सार्वभौमसत्ता वा अखण्डता खलल गर्ने गरी हातहतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्ने र विदेशी मुलुक, सरकार वा संगठित शक्तिसँग मिलेर कुनै षड्यन्त्र गर्नेलाई जन्मकैद

– सार्वभौमसत्ता र राष्ट्रिय एकतामा खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक वा यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुन सक्ने गरी कुनै जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गराउनेलाई पाँच वर्षसम्मको जेल र पचास हजार रुपैयाँ जरिवाना

– हातहतियार तथा खरखजना जम्मा गर्न सहयोग गर्ने तथा विदेशी राज्य, सरकार वा संगठित संस्थासँग साँठगाँठ गर्नेलाई दश वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना

– सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्ने वा संगठन निर्माणमा सहयोग गर्नेलाई जन्मकैद

– सरकारको कामकारबाहीबारे निराधार वा अप्रमाणित कुरा देखाई अवहेलना गर्नेलाई तीन वर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना

– मित्रराष्ट्रविरुद्ध युद्ध वा विद्रोह गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना

– सैनिक वा प्रहरीलाई भड्काउने, अनुशासन भंग गर्न दुरुत्साहन दिनेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना

– नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाबारे जासुसी गर्नेलाई जन्मकैद वा १५ वर्षसम्म कैद ।

नेपालविरुद्धको युद्ध सम्बन्धमा यस्तो सजाय

नेपालविरुद्ध हातहतियार उठाई युद्ध घोषणा गर्ने, युद्ध गर्ने नियतले हातहतियार, खरखजाना जम्मा गर्ने वा सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्नेलाई जन्मकैदको सजाय नयाँ मुलुकी ऐनमा तोकिएको छ । युद्ध स्थितिको घोषणा भएको वा नभएको जुनसुकै अवस्थामा पनि नेपालसँग युद्धमा संलग्न रहेका कुनै विदेशी सेनालाई सामरिक वा सैनिक सूचना दिने वा अन्य सहयोग गर्नेलाई समेत जन्मकैदको सजाय तोकिएको छ ।

नेपालसँग युद्धमा संलग्न रहेको राज्य, त्यहाँका नागरिक वा संगठित संस्थासँग सम्बन्ध राख्ने, कारोबार गर्ने, त्यस्तो राज्यका वस्तु वा सेवा पैठारी वा प्राप्त गर्न नसक्ने गरी सरकारबाट घोषणा भएकोमा यस्तो घोषणा उल्लंघन गर्नेलाई जन्मकैद वा १५ वर्षसम्म कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।