प्रकाश सिलवाल

११ कात्तिक, काठमाडौं ।
गणतन्त्र नेपालका दोस्रो तथा मुलुकका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको एकवर्षीय कार्यकाल पूरा भएको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सो पदमा रहेर खेलेको भूमिका र राष्ट्रपतीय संस्थाको संस्थागत विकासमा वर्तमान राष्ट्रपति भण्डारीले निरन्तरता दिएकी छन । उनले गत कात्तिक १३ मा पदभार सम्हालेकी हुन ।

फाइल तस्बिर

फाइल तस्बिर

संविधानले राष्ट्रपतिलाई संवैधानिक मानेको छ भने संविधानको अभिभावक र रक्षकका रुपमा पनि सो पदलाई लिइन्छ । राष्ट्रपतिले गर्ने निर्णय वा काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएकाले सो पदलाई विवादमुक्त र गरिमायुक्त बनाउन सरकार, दल र सबै पक्षले प्रयत्न गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारी महिला भएकाले पनि उनी मुलुकको पहिलो राष्ट्रपति हुँदा उनको थप चर्चा भयो । वाम–लोकतान्त्रिक आन्दोलनमा उनले विगतमा दिएको योगदान र राजनीतिक दलमा रहेर बोकेको अनुभवले पनि उनलाई सो जिम्मेवारी सम्हाल्न मद्दत गरेको हुन सक्छ । ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले उनलाई राष्ट्रपति हुनुअघि नै आदर्शवान् र सङ्घर्षवान् नेत्रीका रुपमा लिइन्थ्यो ।

नयाँ संविधानको व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्मा विसं २०७२ कात्तिक ११ गते भएको राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेकी भण्डारी ३२७ मतसहित निर्वाचित भएकी थिइन । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत प्राप्त गरेका थिए । विसं २०७२ असोज ३ मा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा निर्वाचन भएको थियो । प्रमुख दलबीच सहमतिमा आएको संविधानपछिको सत्ता गठबन्धनमा भने सहमति हुन नसक्दा राष्ट्रपतिको निर्वाचनमा पनि मतदान भएको थियो, जहाँ संसद्को ठूलो दल काँग्रेस प्रमुख प्रतिपक्षी थियो ।

राष्ट्रपति भण्डारीले यसबीचमा दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई शपथ गराइसकेकी छन भने संसद्बारा पारित विभिन्न विधेयकमा संविधान बमोजिम प्रमाणीकरण गरेकीछन । दलबीचको सहमतिको यात्रा, संविधानको कार्यान्वयन, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, मुलुकको आर्थिक–सामाजिक विकास, प्राकृतिक विपद्जस्ता विषयमा उनले चासो दिँदै आएकी छन । राजनीतिमा महिला सहभागिता र जागरण ल्याउन तथा संविधानमा हरेक निकायमा ३३ प्रतिशत महिला आरक्षणका लागि निरन्तर अगुवाइ गरेकी उनले राष्ट्र प्रमुख भएपछि पनि सो भावनालाई पछ्याइरहेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए ।

स्वदेशभित्रका करिब १५० सार्वजनिक कार्यक्रममा सहभागी भई राष्ट्रपति भण्डारीले विशेषतः समाजमा पछाडि पारिएका समुदायका कार्यक्रम र समाजसेवालाई प्राथमिकता दिँदै आएकी छन । यस्तै विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय भ्रमणमा पनि उनी जाने गरेकी छन । बालबालिकासँग पनि उनले छलफल गरेकी छन ।

राष्ट्रपतिका औपचारिक कार्यक्रम बढी त भएनन् भन्ने प्रश्नमा शर्माले भने, “महिला, बालबालिका, अपाङ्गता, साहित्य, शिक्षा, कला, पत्रकारिता, बालबालिका, वृद्धवृद्धाका कार्यक्रमलाई बढी प्राथमिकता दिइएको छ, त्यसले ती क्षेत्रमा प्रोत्साहन मिलेको अनुभव भएको छ ।” शर्माले सत्ता परिवर्तनका समयमा राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजिए पनि उहाँले आफ्नो भूमिकालाई ख्याल गरी विवादमा नआएर सरल र संवैधानिक तरिकाबाट सत्ता हस्तान्तरण गराउन सहजीकरण गरेको स्मरण गरे ।

विदेश भ्रमणका कार्यक्रम भने उनबाट हालसम्म नभए पनि छिमेकी भारत र चीनबाट औपचारिक भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । राष्ट्रपति भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ गतेदेखि हुने त्रिदिवसीय भ्रमणपछि भण्डारीको भारत भ्रमण तय हुने सम्भावना देखिएको छ । यसअघि तय भएको भारत भ्रमण विशेष कारणवश स्थगन भएको थियो । रासस