२१ वैशाख, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती बीच मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख घर्ती शीतलनिवास पुगेकी थिइन । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी उनी राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेकी हुन् ।

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचन लगातका विषयमा कुराकानी भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई जानकारी गराएको शर्माले जानकारी दिए ।