३० कात्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण पुरा गरि बिहीबार स्वदेश फर्किएकी छन । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार लगायत उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाले सलामी दिएको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी थिइन । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता भएको थियो । उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको भ्रमणमा सहभागी आपूर्ति मन्त्री जयन्त चन्दले जानकारी दिए ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्नो सम्मानमा युएईस्थित नेपाली दूतावासद्वारा दिएको रात्रीभोजमा सहभागी भई त्यहाँ रहेका नेपालीहरुलाई सम्बोधन गरेको मन्त्री चन्दले जानकारी दिए । त्यस्तै राष्ट्रपति भण्डारीले दुबई वाटर क्यानलको अवलोकन गरेका थिए । मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उनलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेको मन्त्री चन्दले बताए ।

राष्ट्रपति भण्डारीका साथ उहाकी छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी लगाएतको टोली पनि बिहीबार नै स्वदेश फर्केका छन् ।