२१ फागुन, काठमाडौँ।
राष्ट्रिय एकता र स्वाभिमान सन्देश फैलाउने उद्देश्यले १५ फिटको राष्ट्रिय झन्डा दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा फहराइएको छ ।

इन्द्रदह एकीकृत विकास समितिले त्यस क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत झन्डा फहराएको हो । उक्त समाधिस्थल समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो स्थानमा छ ।

नेपाली काँग्रेसका नेता एवम् सांसद ध्यानगोविन्द रञ्जितले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदाय एकजुट भई लाग्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रमा फहराइएको झन्डाले सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेकपा (एमाले)का नेता तथा सांसद रामेश्वर फुयाँलले राष्ट्रिय एकता कमजोर भएका कारणले वैदेशिक हस्तक्षेप बढ्दै गएको बताए ।

समितिका अध्यक्ष हरिशरण थापाले देशको राष्ट्रियतामा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए।

आधुनिक नेपालको एकीकरणका लागि कीर्तिपुरमा भएको युद्धमा मारिएका कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिकामा छ । त्यस क्षेत्रमा नैकाप, दहचोक, नागार्जुन जोड्ने मार्ग विकास गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस