२९ असार, काठमाडौं । संयुक्त अरब इमिरेट्समा हुने एएफसी तेइस वर्षमुनि (यु–२३)को च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरे ।

यही असार ३१ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल समूह डीमा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् जसमा नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्दै प्रतियोगिताको उद्घाटन हुनेछ । त्यसैगरी दोस्रो खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग भिड्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।