६ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ ।

यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरेको छ । विसं २०२२ माघ १० गते स्थापना भएको सो बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

Rastriya-Banijya-Bank 20101226085858

बैंकको ५२औँ वार्षिकोत्सव अवसरमा बैंकद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कुल कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको जानकारी दिए ।

यस अवधिका बैंकको खुद नाफा रु एक अर्ब ३० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रु एक अर्ब नौ करोड रहेको थियो । विसं २०६० असार महिनासम्म बैंकको पुँजी रु एक अर्ब १७ करोड २३ लाख मात्र रहेको र सञ्चित नोक्सानी रु २३ अर्ब ५६ करोड पुगेको थियो । बैंक सुधार कार्यक्रम प्रभावकारी बन्दै जाँदा बैंकले कमाएको मुनाफाबाट सञ्चित नोक्सानी घट्दै जाँदा विसं २०७३ असोज मसान्तसम्म सो मुनाफा रु एक अर्ब २३ करोडभन्दा बढी रहेको बैंकले जनाएको छ ।