११ कात्तिक, काठमाडौँ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न सरकारले यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन् ।President-of-India-Pranab-Mukherjee

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा भारतीय राष्ट्रपति तीनदिने भ्रमणमा यही कात्तिक १७ गतेदेखि नेपाल आउँदै छन्। मन्त्रिपरिषद्को आजको बैठकले छिमेकी भारतीय र चीनका राष्ट्र प्रमुखबाट हुने नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन विगतको परम्परा र सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यसअघि सन् १९९८ मेमा नेपालको निमन्त्रणामा भारतीय राष्ट्रपति केआर नारायण नेपाल आएका थिए ।

मित्र राष्ट्रका राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिने विगतकै परम्परा हो । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा रहँदा राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथ र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्ने, पोखरामा भारतीय सेनामा काम गरी अवकाश पाएका सैनिकको भेलालाई सम्बोधन गर्ने लगायत कार्यक्रम रहेको बुझिएको छ । रासस