२५ चैत, एजेन्सी।
सिरियामा भएको रासायनिक आक्रमण पश्चात भएको मिसाइल आक्रमण बारे पहिलो पटक प्रतिक्रिया दिदैँ रुसले अमेरिकाको कदमको कडा विरोध गरेको छ।

रुसले अमेरिकाको कदमको विरोध गर्दै ‘सार्वभौम राष्ट्र विरुद्ध आक्रमण’ बताएको छ।

अमेरिकाको कदमले ‘रुस-अमेरिका सम्बन्ध बिग्रने’ बताउँदै आइएसको विनाशकोलागि अन्तराष्ट्रिय गठबन्धनमा ‘गम्भीर अवरोध’ सिर्जना भएको रुसले बताएको छ।

अमेरिकाले सिरियामा गरेको मिसाइल आक्रमणको इरानले पनि निन्दा गरेको एपीले जनाएको छ।

बेलायतले भने अमेरिकालाई पूर्ण सहयोग गर्ने बताएको छ। एक विज्ञप्ती जारी गर्दै बेलायतले ‘सिरियन सरकारले गरेको बर्बर रासायनिक आक्रमण पश्चात जवाफमा अमेरिकाले गरेको मिसाइल आक्रमणको बेलायतले पूर्ण सहयोग गर्छ’ भनेको छ।

घटना के हो ?

सिरियाको होम्स नजिक रहेको अल-साइरात एयरबेसमा अमरिकाले मिसाइल आक्रमण गरेको छ। यहि हप्ता सोही बेसबाट रासायनिक आक्रमण गरिएको बताइएको छ।

पेन्टागनले मेडिटेरानियन सागरबाट युएएस रोस र पोर्टर युद्धक तोपबाट स्थानिय समयअनुसार शुक्रबार बिहान ५९ वटा ‘तोमाहक क्रुन मिलाइल’ प्रहार गरेको बताएको छ।

आक्रमण पश्चात सिरियाको सो एयरबेस ध्वस्त भएको बताइएको छ। उच्च पदस्थ सैन्य अधिकारीहरु भने मिसाइल आक्रमण अघि नै सो बेसबाट निस्किएकाले केही व्यक्तिको मात्र मृत्यु भएको हुनसक्ने बताइएको छ।

७० जनाको ज्यान जाने गरि भएको रासायनिक आक्रमणको कडा जवाफ दिन अमेरिकाले मिसाइल आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।