२७ वैशाख, काठमाडौं ।
वितरण व्यवस्थित नहुँदा दुर्गम गाउँमा भूकम्पपीडितसम्म पर्याप्त राहत सामग्री पुग्न सकेको छैन् । दाताहरुले सुगमका क्षेत्रमा राहत पुर्‍याए पनि दुर्गममा हाहाकार छ ।

काभ्रेको धुलिखेलबाट अरनिको राजमार्ग हुँदै अगाडि बढेपछि मिनेट-मिनेटमा भूकम्पपीडितहरुलाई राहत बाँड्न गएका र फर्किएका गाडी भेटिन्छन् । राजधानीबाट दैनिक सयौं संघ-संस्था तथा व्यक्तिले काभ्रे र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा पुगेर राहत सामग्री बाँड्दै आएका छन् । तर, ती राहत प्रायः सुगम गाउँहरुमा मात्र पुग्ने गरेको छ ।

Melamchi Earthquake Nepal (3)

राजमार्गआसपासका गाउँमा राहत धेरै पुग्ने गरेको छ । दुर्गम गाउँका भूकम्पपीडितले भने पर्याप्त राहत पाउन सकेका छैनन् । काभ्रेका सुगम गाउँमा एकै दिनमा धेरैले राहत बाँड्ने गरेका छन् । तर, काभ्रेकै डाँडापारिका गाउँहरुमा राहतको कुरा छाडौं, घाइतेहरुलाई समेत अझै सरकारले उद्धार गर्न सकेको छैन् । डाँडापारिका दुर्गम गाउँमा एकपल्ट सरकारले हेलिकोप्टरमार्फत चामललगायतको खाद्यान्न बाँडेपछि दोस्रोपटक जान सकेको छैन् । आजको नयाँ पत्रिकामा खबर छ ।

सिन्धुपाल्चोकमा पनि त्यस्तै अवस्था छ । अरनिको राजमार्गआसपास र चौतारामा जाने सडकआसपासका गाउँमा मात्र राहत वितरण गरिएको र विकट गाउँमा पुग्न नसकेको पीडितको गुनासो छ ।