१९ मंसिर, नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । सो पदमा उनको मात्र उम्मेदवारी परेको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो ।

Rahul-Gandhi

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छन । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन । यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।