३ माघ । काठमाडौं
४० खेलसम्म अपराजित रहँदै कीर्तिमान बनाएको रियल म्याड्रिडलाई सेभिल्लाले रोकेको छ । गएराती ला लिगाको खेलमा सेभिल्लाले रियललाई २–१ गोल अन्तरले पराजित गरेपछि उसको ४० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

real-madrid-v-sevilla-uefa-super-cup

हारसँगै लालिगामा उपाधि होडको सम्भावना फेरि खुल्ला बन्न पुगेको छ । १८र/१८ खेल सकिंदा सेभिल्ला ३९ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको रियलको ४० अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ ।

बाँकी एक खेल जित्दा पनि रियलको सेभिल्लासँग ४ अंक र बार्सिलोनासँग ५ अंकको मात्र दुरी हुनेछ । ६७ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलले रियल अघि रहँदै ८४ औं मिनेटसम्म यही अग्रतामा थियो । तर, रियलको अपराजित खेल टुंगिने क्रममा सेभिल्लाका लागि सर्जिओ रामोसले ८५ औं मिनेटमा आत्मघाती गोल गरिदिए । त्यसपछि रियल १–१ गोलको बराबरीमा पुग्यो ।

खेलमा यही बराबरीले टुंगिने संकेत पनि नदेखिएको होइन । तर, ९० पछि थप गरिएको समयमा सेभिल्लाको लागि जोभेटिकले गोल गर्दा रियलको अपराजित यात्रा टुंगियो ।