५ असार, रुकुम ।

रुकुमको भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको वडा नं. ७ मा वडा अध्यक्षबाहेक ४ जना सदस्यहरु र वडा नं. ६ का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन ।

वडा नं. ७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रले जनाएको छ । त्यस्तै, वडा नं. ६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रबाट ४७ जना, कांग्रेसबाट ३६ र एमालेको तर्फबाट २७ जनाले उम्मेदवारी दिएका छन ।