१४ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा प्रतिष्पर्धा झन् झन् रोचक बन्दै गएको छ । अब दुई वटा वडाका ६ हजार १ सय ६२ मत गणना गर्न बाँकी छ ।

१९ र २० नम्बर वडाको मतगणना बाँकी हुँदा एमाले उमेद्बार देबी ज्ञवाली र माओवादी केन्द्रकी उमेद्बार रेणु दाहालमध्ये कसले बाजी मार्ला भनेर यसै भन्न सकिने अवस्था छैन । तर विभिन्न कोणबाट कसले चुनाव जित्ला भनेर विश्लेषण गर्न थालिएको छ ।
काँग्रेससँगको गठबन्धनका आधारमा मत खस्ने हो भने रेणुले सहजै चुनाव जित्ने देखिन्छ । मत गन्न बाँकी रहेको दुबै १९ र २० नम्बर वडा नेपाली काँग्रेसको पक्कड रहेको क्षेत्र हो । वडा नम्बर २१ एमालेले लिड गर्ने दाबी गरेको थियो ।

सकेन भने पनि बराबरको अवस्था हुने उसको आंकलन थियो । तर यो वडाबाट काँग्रेसको मत झण्डै ९० प्रतिशत रेणुले प्राप्त गरिन् र मतान्तर खुम्च्याउन सफल भइन् । वडा नम्बर २१ कै अनुपातमा रेणुलाई मत खस्ने हो भने उनले बाजी मार्ने पक्का छ ।

६ हजार १ सय ६२ मत गन्न बाँकी हुँदा मतान्तर ७ सय ८४ मतको छ । चुनाव जित्नका लागि रेणुलाई एउटा वडामा ३ सय ९२ मत बढी ल्याउनुपर्छ । जुन २१ नम्बर वडाको तुलनामा संभव देखिन्छ ।