४ मंसिर, काठमाडौं ।
पहिले दुइटा निर्वाचन क्षेत्र रहेको दोलखामा पुन:संरचनापछि एउटै मात्र छ । यसअघिको १ नम्बर क्षेत्रमा ०४८ सालदेखि गत स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम रोकिएन । तत्कालीन १ नम्बर क्षेत्र हाल प्रदेशसभा ‘क’ मा पर्छ । यस प्रदेशबाट कांग्रेसका बर्मा लामा र वाम गठबन्धनबाट माओवादीका विशाल खडका प्रतिस्पर्धामा छन् । उनीहरू एकले अर्कालाई बुथकब्जाको रणनीति नबनाउन चेतावनी दिँदै आएका छन् । यी दुई उम्मेदवारको चेतावनीयुक्त अभिव्यक्तिले पनि यस पटक बुथकब्जा हुन सक्ने संकेत गरिसकेको एक मतदाताले बताए ।

विगतमा यी दुवै नेता चुनावका दिन हत्कण्डा मच्चाउनेकै सूचीमा पर्छन् । भर्खरै स्थानीय निर्वाचनमा आफ्नै गृहस्थल मेलुङ गाउँपालिका अध्यक्षमा ८६ मतले हारेको चोट बर्मालाई छ । ०७० को संविधानसभा चुनावमा दोलखा १ बाट एमाले र कांग्रेससँग हारेको चोट खडकालाई छ । यी दुवै ठाउंँका पराजयलाई बुथकब्जाको कारण मानिएको छ । आजको कान्तिपुरमा खबर छ ।

कांग्रेस, एमाले र माओवादीबाट आ–आफ्नो वर्चस्व रहेको मतदानस्थलमा बुथकब्जा हुँदै आएका छन् । स्थानीय कार्यकर्ता र ‘गुन्डा’ मार्फत ती मतदानस्थलमा एकलौटी मत खसालिन्छ । बुथकब्जा गर्न राजनीतिक दलहरूले काठमाडौंलगायत ठाउँबाट पेसेवर ‘गुन्डा’ समेत झिकाउने गर्छन् । मोटरसाइकल र गाडी रिजर्भ गरेर उनीहरू जिल्ला प्रवेश गर्छन् र योजनाअनुसार बुथकब्जा गर्ने केन्द्रमा उनीहरूलाई उम्मेदवारले खटाउँछन् । हतियारसहित पुग्ने गुन्डाले स्थानीय कार्यकर्ताको साथमा सुरक्षा निकाय र कर्मचारीलाई समेत नियन्त्रणमा राखेर मतपत्रमा एकलौटी छाप हाल्छन् । सामान्य मतदातालाई लखेटेर उनीहरूको नामको मत यस्तै गुन्डाहरूले एकलौटी रूपमा हालिदिने गर्छन्, जसलाई बुथकब्जाका रूपमा लिइन्छ ।

गत स्थानीय तहको चुनावमा कांग्रेस, माओवादीको गठबन्धन र एमालेले आ–आफ्नो वर्चस्व रहेका इलाकाका करिब दर्जन मतदानस्थल कब्जा गरेका थिए । कांग्रेसले यस पटक वाम गठबन्धनले गौरीशंकरको खारे, चंखु, मार्बु, सुरी, जुुंगु, सहरे, मालु च्यामाजस्ता मतदान केन्द्रमा बुथकब्जाको रणनीति बनाएको आरोप लगाएको छ । यी बुथमध्ये मार्बु, सहरे, काब्रेलगायत स्थानमा यसअघि पनि बुथकब्जा भएका थिए । वाम गठबन्धनले पनि कांग्रेसबाट झुले, गैरीमुदी, डाँडाखर्क, जफे, भीरकोट, भेडु, नाम्दु, मिर्गेजस्ता ठाउंँमा बुथकब्जा गर्ने रणनीति बनाएको दाबी गरेको छ । स्थानीय निर्वाचनमा गैरीमुदी, झुले, जफे, नाम्दु, क्षेत्रमा कांग्रेसले कब्जा गरेको थियो । आफ्नो वर्चस्व स्थापित गर्न गत स्थानीय तहमा यस्तै भिडन्त र झडपमा परेर गौरीशंकर र मेलुङमा दुई जनाको ज्यान गएको थियो ।

गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एमालेका वडा सदस्यका छोरा कुलबहादुर तामाङको मृत्यु भयो । जुन घटनाले जिल्लामा माओवादी र एमालेबीच ठूलो दरार खडा गराएको छ । उक्त घटनामा संलग्न भन्दै एमालेले हाल वाम गठबन्धनबाटै उम्मेदवार बनेका विशाल, माओवादी नेत्री देवी खडका, गंगा कार्कीलगायत ३९ जनाविरुद्ध ज्यानमुद्दा दर्ता गरेको छ । जुन मुद्दा अहिले अदालतमा विचाराधीन छ । वाम गठबन्धनबाट उम्मेदवार रहेका विशालले दुई पार्टीबीच तालमेल भएपछि यो मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको बताए । पीडित र घाइते पक्षलाई राखेर कार्यक्रम भइसकेकाले जिल्लामा यही घटनालाई लिएर एमाले र माओवादीबीच द्वन्द्व नरहेको उनले दाबी गरे ।