दक्षिण कोरिया संवाददाता

३ असोज, दक्षिण कोरिया।

इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली युवाको सुतेकै अवस्थामा ज्यान गएको छ ।

तेह्रथुम घर भएका अन्दाजी चौतीस वर्षिय दुधराम लिम्बुको गएराति उनले काम गर्ने ख्यंगी प्रान्तको किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीको रुममा मृत्यु भएको किम्फो प्रहरी कार्यलमा विदेशी मामला हेर्ने संयोजक उमेश बस्नेतले जानकारी दिएका छन् ।

राति राम्रो संग खानपीन गरेर सुतेका लिम्बु बिहान झण्डै तीन बजे तिर अनौठो तरिकाले शरिर चलाएको रुम पार्टनरले बताए । त्यसपछि उठाउन खोज्दा नउठेपनि सहकर्मीले अर्को रुपमा बस्ने विदेशी कामदारलाई खबर गरेका थिए । विदेशी र सहकर्मी मिलेर अस्पतालमा खबर गरेर एम्बुलेन्स झिकाएका थिए ।

मृतक लिम्बु तीन महिना अघि अर्थात जुलाई तीन तारिख कोरियामा प्रवेश गरेको बताइएको छ । मृतक लिम्बुको अझै पनि परिचयपत्र अर्थात एलेन कार्ड पनि नबनेको बताइएको छ । उक्त कम्पनीमा दुइ जना नेपाली कार्यरत रहेको बुझिएको छ ।

मृतक लिम्बुको बारेमा र उनको नेपालको विस्तृत ठेगाना पत्ता लगाउने प्रयास भइरहेको बस्नेतले बताए । मृतक लिम्बुको शव अहिले किम्फोको थोन्जीन अस्पतालमा राखिएको छ । मृत्यु के कारणले भएको हो भनेर पोस्टमार्टमबाट थाहा हुने बस्नेतले बताए ।

जाँडरक्सी जस्ता धुम्रपान र मद्यपानबाट टाढा रहेका मृतक लिम्बु विवाहित र घरमा श्रीमती र एक दश वर्षिय छोरा समेत रहेको बुझिएको छ ।

घटनाका सम्बन्धमा राजधानी सोलस्थित नेपाली एम्बेसीमा बुझ्दा जानकारीमा आएको र त्यस बारेमा सुचना लिने काम भइरहेको एम्बेसीका श्रम सहचारी देवराज ढकालले जानकारी दिएका छन् ।

कोरियामा डिप्रेशन, राती खाना खाएर सुतेको भोलीपल्ट मृत अवश्थामा भेटिने, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले मृत्यु हुनेको संख्या सन् २००७ यता एक सय छ पुगेको छ ।