८ जेठ, काठमाडौं ।

कमजोर लक्ष्य पछ्याउँदै जितको नजिक पुगेर पनि राइजिङ पुने सुपरजाइन्ट आइपिएलको १० औं उपाधि उचाल्न असफल भएको छ । १३० रनको कमजोर लक्ष्य दिनुको बाबजुद बलरहरुको सहयोगमा मुम्बईले पुणेमाथि सनसनीपूर्ण एक रनको रोमाञ्चक जित निकाल्यो ।

गएराती हैदरावादमा भएको फाइनलमा अन्तिम तीन ओभरमा ३० रन चाहिने हुँदासम्म पुणे जितको संघारमा थियो । विकेट पनि ३ वटा मात्र झरेको थियो । क्रिजमा थिए कप्तान स्टेफन स्मिथ । उनी हुँदा टिमले हार्ने कल्पाना पनि थिएन ।

१८ औं ओभरमा मालिंगाले सात रन मात्र दिए । दुई ओभरमा पुणेलाई २३ रन आवश्यक भयो ।

१९ औं ओभरमा स्मिथको एक छक्का सहयोगमा पुणेले १२ रन जोड्दै अन्तिम ओभरमा ११ रन मात्र चाहिने भयो ।

अन्तिम ओभर लिएर आए मिचेल जोनसन । उनको पहिलो बलमा नै मनिष तिवारीले चौका हानेपछि पाँच बलमा पुणेलाई ७ रनमात्र चाहिने भयो । जुन असम्भव थिएन । तर, मुम्बईलाई विकेट लिएर होइन रन रोकेरै जित्नुपर्ने अवस्था थियो ।

दोस्रो बलमा जोनसनले पोलार्डद्धारा तिवारीलाई क्याचआउट गराए । तेस्रो बलमा छक्का हान्ने धुनमा स्मिथ रायडुबाट क्याच आउट भए ।
अझै तीन बलमा सात रनको आशा पुणेले मारिसकेको थिएन । चौथो बलमा बाइमा पुणेले एक रन पायो । अब दुई बलमा ६ रन आवश्यक देखियो । पाँचौ बलमा हार्दिक पाण्डेले क्याच छोड्दा क्रिश्चियनले दुई रन बटुल्न सफल भए ।

अब अन्तिम बलमा जितका लागि चार रन आवश्यक देखियो । तीन रनमात्र बनाउन सक्दा पुणेले खेल सुपरओभरमा लान सक्ने देखियो । तर, क्रिश्चियनले चौका वा छक्का हिर्काउन सकेनन् । लगंअनमा प्रहार गरे पनि दुई रन बटुलेपछि रन आउट हुँदा एक रनले पछि पुणेल मुम्बईसामु एक रनको पराजय बेहोर्न बाध्य भयो । अन्ततः जितनजिक पुगेर पनि पुणेले मुखैको उपाधि गुमायो ।