१८ मंसिर, रोल्पा । रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ ।

कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए ।

उत्पादित मासुमध्ये जिल्लामा खपत भई बढी भएको छिमेकी जिल्ला प्युठान, दाङ र राजधानीसम्म जाने गरेको बताइएको छ । खसी तथा राँगाको सुकुटी विदेशमा समेत पठाइने गरेको भए पनि कति परिमाणमा विदेश पठाइन्छ सोको आधिकारिक तथ्याङ्क कार्यालयमा नभएको सिंहले जानकारी दिए ।

thawang-rolpa

जिल्लामा व्यावसायिक बाख्रापालक कृषकको सङ्ख्या समेत बढ्न थालेको बताइएको छ । हाल १०० भन्दा बढी कृषकले व्यावसायिक बाख्रापालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट हन्डर खाएका युवा सो व्यवसायमा लागेको बताइन्छ ।

हालसम्म जिल्लामा ६१ कुखुरापालन फार्म तथा विभिन्न स्थानमा २९ मासु पसल सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय रोल्पा तथ्याङ्कले देखाएको छ । यसैबीच उत्तरी रोल्पामा व्यावसायिक रुपमा भेंडापालन गरिँदै आएकामा पछिल्ला दिनमा त्यो सङ्ख्या भने घट्दै गएको बताइएको छ । रासस